
भोजपुर । नेकपा (एमाले) का सचिव एवं भोजपुरबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शेरधन राईले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई आत्मसात् गर्दै राईले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेर प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
राईले अधुरा सडक र पुलहरूको निर्माणलाई तीव्रता दिने तथा ऐतिहासिक टक्सार बजारलाई ‘सम्पदा बजार’ का रूपमा विकास गर्ने योजना अघि सारेका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने बजार र पालिका केन्द्रहरूलाई व्यवस्थित बनाउने तथा जोखिमयुक्त बस्तीहरूलाई एकीकृत बस्तीमा रूपान्तरण गर्ने उनको बाचा छ ।
कृषिमा क्रान्ति र गाँजा खेती
किसानको मुख्य समस्याका रूपमा रहेको ‘बाँदर आतङ्क’ नियन्त्रण गर्ने विषयलाई उनले विशेष महत्त्व दिएका छन् । सिँचाइ, प्रविधि र मल-बीउको व्यवस्था गरी जिल्लालाई आत्मनिर्भर बनाउने तथा चिया, कफी, अलैँची, रुद्राक्ष जस्ता उच्च मूल्यका बाली प्रवर्द्धन गर्ने उनको योजना छ । व्यावसायिक गाँजा खेतीका लागि विद्यमान कानुन संशोधन गर्न पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
विश्वचर्चित ‘मुन्दुम पदमार्ग’ लाई थप विस्तार गरी संसारकै आकर्षक गन्तव्य बनाउने र भोजपुरका भाषा, कला एवं संस्कृतिको संरक्षणका लागि ‘नवस्रष्टाको कदर र पुर्खाको सम्मान’ कार्यक्रम सञ्चालन गर्ने उनले बताएका छन् ।
जिल्ला अस्पताललाई आधुनिक उपकरणसहित स्तरोन्नति गर्ने र पालिका तहका अस्पतालमा दक्ष जनशक्ति सुनिश्चित गर्ने, नयाँ संघीय शिक्षा ऐन जारी गर्दै शिक्षाको गुणस्तरमा एकरूपता ल्याउने, युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउन ‘सामूहिक उद्यमशीलता’ र ‘युवा आत्मनिर्भर कार्यक्रम’ ल्याउनेलगायत योजना अघि सारेका छन् ।
























