सुनसरी-३ मा चुनावी सरगर्मी: चौधरीका एजेन्डा र विकास योजना

Share this
608shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १३, बुधबार १०:५१

इटहरी। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर ३ मा राजनीतिक सरगर्मी बढेसँगै नेकपा (एमाले) की उम्मेदवार भगवती चौधरीले आफ्ना विकास योजना र प्रतिबद्धतासहित चुनावी अभियानलाई तीव्रता दिएकी छन्।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई ५ हजार १८८ मतान्तरले पराजित गरेकी चौधरी यसपटक पनि विकासप्रेमी छविका साथ मतदातामाझ पुगेकी छन्। उनले आफू गर्न नसक्ने झुठो आश्वासन नदिने र अन्य उम्मेदवारको आलोचना गर्नुभन्दा सुशासन र विकासका मुद्दामा केन्द्रित रहने बताएकी छन्।

चौधरीले अघिल्लो कार्यकालको तीन वर्षमा तीन अर्ब २१ करोड रुपैयाँ बजेट सुनिश्चित गरी सुनसरी ३ मा विभिन्न विकास योजना सञ्चालन गरेको बताएकी छन्। तीमध्ये केही योजनाहरू निर्माणाधीन अवस्थामा रहेकाले तिनलाई पूर्णता दिन पुनः जनताको साथ आवश्यक रहेको उनले उल्लेख गरिन्।

आफ्नो कार्यकालमा २७५ विपन्न परिवारलाई घर निर्माण गरिदिएको जानकारी दिँदै उनले आगामी दुई वर्षभित्र थप ४ सय परिवारलाई आवासको व्यवस्था गर्ने योजना सुनाइन्।

आर्थिक सशक्तीकरणलाई मुख्य एजेन्डा बनाएकी चौधरीले हालसम्म २ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिलाएको र ५० हजारभन्दा बढी महिलालाई आत्मनिर्भर बनाएको दाबी गरेकी छन्।

संसद्मा समेत जनताका समस्या र हितका पक्षमा प्रखर रूपमा आवाज उठाउने सांसदको पहिचान बनाएकी उनले यसपटक पनि मतदाताले आफ्नो कामको मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरिन्। निर्वाचन नजिकिएसँगै यस क्षेत्रमा उम्मेदवारहरूले आ-आफ्नो प्रभाव विस्तार गर्ने क्रम जारी छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.