
जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र अहिले कुनै विवाद र मतभेद नरहेको दाबी गरेका छन्। धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका निधिले कांग्रेसमा नयाँ जोश र ऊर्जा देखिएको बताएका हुन्।
जनकपुरमा फागुन ६ गते भएको विशाल आमसभाले सकारात्मक सन्देश दिएको उल्लेख गर्दै उनले पार्टीको नयाँ नेतृत्वले सही दिशा लिएको बताए। ‘हामी बदलियौँ, देश बदल्छौँ र देश सम्हाल्छौँ भन्ने गगनकुमार थापाको युवा ऊर्जालाई मैले सकारात्मक रूपमा लिएको छु, यसले राम्रो प्रभाव पारेको छ,’ निधिले भने।
उनले देशभर कांग्रेसमा आन्तरिक एकता कायम रहेको र उम्मेदवार चयनको प्रक्रियाले पनि कार्यकर्तामा उत्साह भरेको जिकिर गरे। वर्तमान राजनीतिक अवस्थालाई जनताले राम्ररी बुझेकाले आगामी निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत प्राप्त गर्ने र आफ्नै सरकार बनाउनेमा आफू पूर्ण विश्वस्त रहेको उनले बताए।
पार्टीभित्र बाँकी रहेका सानातिना आन्तरिक मतभेदलाई मत्थर पार्न आफू स्वयंले पहल गरिरहेको र त्यसमा सफलता समेत पाइरहेको निधिको भनाइ छ। उनले चुनावी अभियानका क्रममा जनताको उत्साहजनक साथ पाएको समेत उल्लेख गरे।
























