
दमक । झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) मा प्रवेश गर्नेहरूको जनलहर देखिएको छ । यसै क्रममा बुधबार झापाको दमक नगरपालिका–४ स्थित धरधरेमा आयोजित एक विशेष कार्यक्रमका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित विभिन्न राजनीतिक दल परित्याग गरी ३ सय ५० जनाभन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । आफ्नै निर्वाचन क्षेत्रमा भएको यो ठूलो संख्याको पार्टी प्रवेशले एमालेको पक्षमा जनलहर थप सुदृढ भएको सन्देश दिएको छ ।
एमालेमा प्रवेश गर्नेहरूले विगतमा यस क्षेत्रको विकास र पूर्वाधार निर्माणमा नेकपा (एमाले) र अध्यक्ष ओलीको नेतृत्वले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन् । आगामी दिनमा पनि यस क्षेत्रको चौतर्फी विकास र समृद्धिको अगुवाइ ओलीबाहेक अरूबाट सम्भव नभएको ठहर गर्दै आफूहरू एमालेमा समाहित भएको उनीहरूको भनाइ थियो।
यसअघि पनि यस क्षेत्रमा रास्वपाका क्षेत्रीय तहका नेताहरूसहित विभिन्न दलका प्रभावशाली व्यक्तिहरू एमालेमा प्रवेश गरिसकेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि यस क्षेत्रबाट एमाले अध्यक्ष ओली स्वयं उम्मेदवार हुन् ।
























