
विराटनगर । झापाको कमल गाउँपालिकामा चुनावी रिपोर्टिङमा पुगेका पत्रकारमाथि नेकपा (एमाले)का कार्यकर्ताले बिहीबार दिउँसो आक्रमण गरेका छन् ।
पत्रकार अर्जुन आचार्यमाथि आक्रमण भएको हो । रातोपाटी डटकम अनलाइनमा कार्यरत आचार्य चुनावी रिपोर्टिङका क्रममा त्यहाँ पुगेका थिए । कमल गाउँपालिकास्थित जीवन चोकमा आफूमाथि एमालेको भोलेन्टियर्स फोर्समा आबद्ध व्यक्तिहरूले आक्रमण गरेको आचार्यले बताए ।
आचार्यसँगै रहेका पत्रकार अमृत चिमरियाका अनुसार एमालेको चुनावी अभियानका क्रममा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको घरदैलो तथा मतदाता भेटघाट चलिरहँदा भोलेन्टियर्स फोर्सका कार्यकर्ताले भोट केमा ? भन्दा छेउमा भएका महिलाहरुले घण्टीमा भन्ने जवाफ दिएका थिए । महिलाको जवाफ सुनेपछि आक्रोशित एमाले कार्यकर्ताले अपशब्द प्रयोग गरे ।
महिला आक्रोशित भएपछि नजिकै रहेका पत्रकार आचार्यले मोबाइल निकालेर भिडियो खिचेका थिए । भिडियो किन खिचेको ? भन्दै फोर्सका कार्यकर्ताले उनीमाथि आक्रमण गरेको चिमरियाले बताए ।
आक्रमणबाट आचार्यको आँखा, गाला र ढाडमा चोट लागेको छ । उनको चस्मासमेत फुटेको छ । आक्रमणकारीले आचार्यको मोबाइल फोनसमेत खोसेर लगेको जानकारी चिमरियाले दिए ।
एमाले कार्यकर्ताले आक्रमण गर्न थालेपछि आचार्यलाई सोही स्थानमा रहेका पत्रकारले जोगाएर गाडीमा राखेका थिए । गाडीमा पनि एमाले कार्यकर्ताले आक्रमण गरेको जानकारी चिमरियाले दिए ।
गाडीमै आक्रमण गर्न थालेपछि एमालेका अन्य कार्यकर्ताले भोलिएन्टर फोर्सका कार्यकर्तालाई बाहिर लगेका थिए । चिमरियाका अनुसार आक्रमण गर्ने समूह २५६१ नम्बरको स्कर्पियोमा सवार थियो ।
आक्रमणपछि पनि एमाले कार्यकर्ताहरूले पत्रकारको टोलीलाई ‘दमकमा देखाइदिने’ भन्दै धम्की दिएको चिमरियाले बताए । नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठकले पत्रकार आचार्यमाथि आक्रमण गर्नेलाई तत्काल कारबाहीको दायरमा ल्याउनुपर्ने माग गरेकी छन् ।
‘समाचार संकलन गर्न खटिएका पत्रकारमाथि आक्रमण हुनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो । दोषीलाई तत्काल कारबाही गरिनुपर्छ । राज्यले पत्रकारलाई निर्बाध र सुरक्षित रूपमा ‘रिपोर्टिङ’ गर्ने वातावरण सुनिश्चित गर्नुपर्छ,’ पाठकले भनिन् ।


















