अलोकतान्त्रिक शक्तिलाई सत्तामा पुर्‍याउने खेल भइरहेको ओलीको आरोप

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १५, शुक्रबार १६:३५

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा हुन गइरहेको निर्वाचनलाई लिएर गम्भीर आशंका व्यक्त गरेका छन् । उनले निर्वाचनको नाममा अलोकतान्त्रिक शक्तिहरूलाई सत्तामा पुर्‍याउने षड्यन्त्र भइरहेको आरोप लगाएका हुन् ।

झापाको दमकमा शुक्रबार अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुनुपर्नेमा जोड दिए । उनले राज्य संयन्त्र निर्वाचनलाई स्वच्छ बनाउन प्रतिबद्ध देखिन नसकेको उल्लेख गरे । चुनावमा कुनै पनि प्रकारको धाँधली, अनुचित प्रभाव वा प्रशासनिक दुरुपयोग स्वीकार्य नहुने उनको स्पष्ट भनाइ थियो ।

ओलीले प्रचारप्रसार र मतदान प्रक्रियाका क्रममा हुन सक्ने अनियमित गतिविधि रोक्न सरकार गम्भीर बन्नुपर्ने बताए । ‘निर्वाचन लोकतन्त्रको आधार हो । यसलाई दूषित बनाउन खोजियो भने त्यसले मुलुकलाई गलत दिशातर्फ लैजान्छ,’ उनले भने ।

उनले एमाले सधैं संवैधानिक र लोकतान्त्रिक बाटोबाटै मुलुकका समस्याको समाधान खोज्ने पक्षमा रहेको बताए । असंवैधानिक अभ्यास, संसद विघटन र राजनीतिक अस्थिरताले देशलाई संकटतर्फ धकेल्ने उनको टिप्पणी थियो ।

उनले संसद भंग गरेर अस्थिरता निम्त्याउने र अलोकतान्त्रिक बाटो हिँड्न खोज्नेहरूलाई सत्तामा ल्याउन निर्वाचनको उपयोग गर्न खोजिएको आशंका व्यक्त गरेका छन् । ओलीले जे–जस्तो राजनीतिक अवस्था भए पनि अब निर्वाचनको प्रक्रिया अघि बढिसकेकाले त्यसलाई शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउनु सबैको दायित्व भएको बताए ।

उनले निर्वाचन आयोग, प्रशासन र सुरक्षा निकायले निष्पक्ष र तटस्थ भूमिका खेल्नुपर्नेमा जोड दिए । त्यसका लागि राज्यका सम्पूर्ण संयन्त्रले कानुनी दायराभित्र रहेर काम गर्नुपर्ने उनको भनाइ छ । निर्वाचनमा कुनै किसिमको चलखेल वा हस्तक्षेप भयो भने त्यसले जनमतप्रतिको विश्वास नै कमजोर पार्ने चेतावनी ओलीले दिएका छन् ।

दमकमा आयोजित कार्यक्रममा विद्यार्थी नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा ओलीले युवाहरूलाई लोकतन्त्रको रक्षा गर्न सचेत र सक्रिय रहन आह्वान गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.