कांग्रेसको सरकार बनेपछि देउवादेखि आफ्नै नेताको सम्पत्ति छानबिन गरिने गगनको घोषणा

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १५, शुक्रबार १७:२७

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भए भ्रष्टाचारविरुद्ध कठोर कदम चालिने बताएका छन् ।

पोखरामा शुक्रबार आयोजित चुनावी सभामा बोल्दै उनले सरकार बनेलगत्तै पूर्वप्रधानमन्त्रीदेखि मन्त्री र आफ्नै सम्पत्तिसमेत छानबिनको दायरामा ल्याइने घोषणा उनले गरेका हुन् । उनले विगतमा प्रधानमन्त्री भइसकेका पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको सम्पत्तिबाट छानबिन सुरु गरिने बताए ।

२०४६ सालपछि प्रधानमन्त्री र मन्त्री बनेका सबैको सम्पत्ति जाँच गर्न शक्तिशाली आयोग गठन गरिने उनको भनाइ थियो । ‘देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ । नेपाली कांग्रेस सरकारको पहिलो काम शक्तिशाली आयोग गठन गर्नु हो,’ उनले भने, ‘त्यो आयोगले शेरबहादुर देउवादेखि मन्त्री भएको गगन थापासम्मको सम्पत्ति सबैभन्दा पहिले छानबिन सुरु गर्छ ।’

थापाले आफ्नै परिवार वा नजिकका व्यक्ति भए पनि छुट नदिइने स्पष्ट पारे । ‘आफ्नो बा भए पनि छोड्दैन,’ भन्दै उनले प्रत्येक काण्ड र प्रकरणको एक–एक गरेर छानबिन गरिने बताए । राजनीतिक दलप्रति बढ्दो अविश्वासको मुख्य कारण भ्रष्टाचार र दण्डहीनता रहेको उल्लेख गर्दै उनले जवाफदेहिता आफ्नै दलबाट सुरु गरिने धारणा राखे ।

उनका अनुसार गठन गरिने आयोग स्वतन्त्र र अधिकारसम्पन्न हुनेछ । अनुसन्धान, अभियोजन र अवैध सम्पत्ति जफतसम्मको अधिकारसहितको संरचना बनाइने दाबी उनले गरे । भविष्यमा कुनै पनि काण्ड दोहोरिन नदिने गरी कानुनी र संस्थागत सुधार गरिने उनको भनाइ थियो ।

भ्रष्टाचारविरुद्धको एजेण्डासँगै उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र उद्योग क्षेत्रमा पाँच वर्षभित्र ठोस परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरे । नियम र कानुनको दायराभित्र रहेर सुधार सम्भव रहेको जिकिर गर्दै उनले लोकतान्त्रिक पद्धतिमार्फत रूपान्तरण गरिने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.