विराटनगरमा स्ववियुका निवर्तमान सचिव एमाले प्रवेश

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १५, शुक्रबार २०:०८

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका निवर्तमान सचिव सनिम ठकुरी नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

अनेरास्ववियुले शुक्रबार विराटनगरस्थित एमाले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा ठकुरीसँगै अन्य दलका अरु पनि युवाहरु पार्टीमा प्रवेश गरेको एमालेले जनाएको छ । नव प्रवेशीहरुलाई एमालेका तर्फबाट मोरङको निर्वाचन क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकाल तथा एमाले नेता लालबाबु पण्डितलगायतले पार्टीमा स्वागत गरेका छन् ।

एमाले प्रवेशको नेतृत्व लिएका ठकुरीले क्षेत्रको विकास र युवा विद्यार्थीको भावना बुझ्ने नेता विनोद ढकाल नै भएको बताएको बताए । उनले एमाले समाजका सबै वर्गका जनताको हित गर्ने पार्टी रहेको समेत उल्लेख गरे ।

ठकुरी पहिले एमालेको अनेरास्ववियुमै थिए । उनी कांग्रेसको विद्यार्थी संगठन नेविसंघमा प्रवेश गरेका थिए । तर, अहिले पुनः नेविसंघ छाडेर एमालेमा प्रवेश गरेका छन् ।

नव प्रवेशीलाई स्वागत गर्दै एमाले उम्मेदवार ढकालले आफूले अघि सारेका प्रतिबद्धतालाई घरघरसम्म पुर्‍याएर एमालेले खेलेको भूमिका र खेल्ने भूमिकाको विषयमा अवगत गराउन आग्रह गरेका छन् । उनले विगतका अधुरा काम पूरा गर्नेदेखि लिएर महेन्द्र मोरङ क्याम्पसको मुहार फेर्न समेत पहलकदमी लिने बताए ।

उनले युवाहरु माझ आफू सधैं नजिक रहेको भन्दै हरेक सुखदुःखमा आफूलाई सम्झन आग्रह गरेका छन् । एमाले नेता पण्डितले युवा पुस्ता बरालिने नभई लगनशील हुनुपर्ने बताए ।

महेन्द्र मोरङ क्याम्पस पुगेका उम्मेदवार ढकालले स्ववियु सभापति रोहित यादव लगायतसँग क्याम्पसको अवस्था र सुधार गर्नुपर्ने विषयमा राय लिएका थिए । त्यस क्रममा स्ववियु सभापति यादवले मोरङ– ६ मा धेरै उम्मेदवार भएपनि यसरी आएर राय लिने उम्मेदवार ढकाल मात्रै भएको बताए ।

‘विनोद ढकाल असल नेता हुनुहुन्छ । उहाँलाई चुनाव जिताउन सम्पूर्ण जेन्जी साथीहरुसँग आग्रह गर्छु,’ यादवले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.