ओलीको जित देशको स्वाभिमानसँग जोडिएको विषय हो: योगेश भट्टराई

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १७, आइतबार १४:१२

दमक । नेकपा (एमाले) का उपमहासचिव योगेश कुमार भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको विजय वा पराजय देश र नेपाली जनताको स्वाभिमानसँग प्रत्यक्ष सम्बन्धित रहेको बताएका छन्। आइतबार झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत कमल गाउँपालिकाको गेउरियामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

भट्टराईका अनुसार ओलीको विजय हुनु भनेको देशको स्वाभिमानलाई माथि उठाउनु र राष्ट्रियतालाई सुदृढ बनाउनु हो। उनले भने, ‘केपी ओलीको विजय केवल एक व्यक्तिको जित मात्र होइन, यो नेपालीत्वको पहिचानलाई गर्वका साथ उचाल्ने विषय हो। यो हाम्रो राष्ट्रियता र स्वाभिमानसँग जोडिएको छ।’

उपमहासचिव भट्टराईले वर्तमान समयमा पार्टीका आन्तरिक स–साना विषयमा अल्झिने बेला नभएको स्पष्ट पारे। अहिलेको मुख्य आवश्यकता भनेकै एकढिक्का भएर पार्टीलाई विजयी गराउनु रहेकोमा उनले जोड दिए।

झापालाई कम्युनिस्टहरूको पवित्र स्थलका रूपमा चित्रण गर्दै उनले यहाँ एमालेको जित हुनु सिंगो कम्युनिस्ट आन्दोलनको जित भएको उल्लेख गरे। ‘केपी शर्मा ओलीको विजय वा पराजय नेकपा एमालेसँग मात्र होइन, यो सिंगो देशको विजय वा पराजयसँग जोडिन्छ,’ उनले थपे।

पार्टीभित्र कोही संगठन, कोही संसद् त कोही स्थानीय तहको जिम्मेवारीमा रहेको बताउँदै उनले जिम्मेवारीका विषयमा अनावश्यक चर्चा नगर्न आग्रह गरे। सबै नेता तथा कार्यकर्ताले आ–आफ्नो स्थानबाट जिम्मेवारी निर्वाह गर्दै चुनावी अभियानमा होमिनुपर्ने उनको भनाइ थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.