
विराटनगर। मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेका बेला अप्रत्याशित राजनीतिक घटनाक्रम विकसित भएको छ। उज्यालो नेपाल पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका युवा उम्मेदवार वसन्त बुढाथोकीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेकपा (एमाले) का उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा गरेका छन्।
आइतबार मोरङको बुढीगंगास्थित गोकुवामा आयोजित एक विशेष कार्यक्रमका बीच बुढाथोकीले आफ्नो चुनावी अभियान रोकेर औपचारिक रूपमा एमाले प्रवेश गरेको घोषणा गरे। सो अवसरमा एमाले उम्मेदवार विनोद ढकाल, नेता लालबाबु पण्डित र पर्शुराम बस्नेत लगायतका नेताहरूले उनलाई खादा ओढाएर पार्टीमा स्वागत गरे। २५ वर्षीय बुढाथोकी यस क्षेत्रकै सबैभन्दा कान्छा र ‘जेनजी’ उम्मेदवारका रूपमा युवा मतदातामाझ लोकप्रिय मानिन्थे।
उम्मेदवारी निष्क्रिय पारेको घोषणा गर्दै बुढाथोकीले अब आफू उम्मेदवारका रूपमा क्रियाशील नरहने र आफूलाई साथ दिने सम्पूर्ण मतदातालाई एमालेका उम्मेदवार विनोद ढकाललाई मतदान गर्न अपिल गरे। ‘यो क्षेत्रको समग्र विकासका लागि एमालेको विकल्प देखिएन,’ उनले भने, ‘विगतमा एमालेले जित्दा यस क्षेत्रमा ठोस कामहरू भएका छन्, तर अरूले जित्दा विकासका योजनाहरू ओझेलमा परे। त्यसैले विकासको निरन्तरताका लागि अब विनोद ढकाललाई जिताउनु आवश्यक छ।’
उनले नयाँ शक्तिका नाममा आएका केही समूह र उम्मेदवारहरूमाथि कडा प्रहार गर्दै उनीहरूले देशलाई स्थायित्व दिन नसक्ने दाबी गरे। सहकारी ठगी, सार्वजनिक सम्पत्ति तोडफोड र राज्यका सर्वोच्च संरचनामाथि आक्रमण गर्ने तत्वहरूले मुलुकको हित नगर्ने उनको तर्क थियो। ‘जनतालाई भावनात्मक नारा र आश्वासनको जालमा पारेर झुक्याउने काम भइरहेको छ, यसबाट सबै सतर्क रहनुपर्छ,’ बुढाथोकीले थपे।
कुल १ लाख ३७ हजार ८ सय ३२ मतदाता रहेको मोरङ–६ मा यसपटकको प्रतिस्पर्धा निकै रोचक देखिएको छ। यहाँ नेपाली काङ्ग्रेसका प्रभावशाली नेता एवं ७५ वर्षीय अनुभवी राजनीतिज्ञ डा. शेखर कोइराला मुख्य मैदानमा छन्। उनीसँगै एमालेका विनोद ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य र नेकपाका मजदुर नेता ओपेन्द्र रायसहित १७ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।
यस्तो बहुपक्षीय प्रतिस्पर्धाको बीचमा युवा उम्मेदवार बुढाथोकीले एमालेसँग सहकार्य गर्ने निर्णय गरेपछि यस क्षेत्रको चुनावी नतिजामा ठूलो असर पर्न सक्ने विश्लेषण गरिएको छ। डा. शेखर कोइराला आफ्नो सांगठनिक विरासत र अनुभवका आधारमा मत मागिरहेका छन् भने विनोद ढकाल विकास र राजनीतिक स्थायित्वको एजेन्डा लिएर अघि बढेका छन्।
























