
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न निर्वाचन कार्यालय र सुरक्षा निकायले लगभग तयारी पुरा गरेका हुन् ।
नेपाल पत्रकार महासंघ मोरङद्वारा आयोजित ‘निर्वाचन र आमसञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा सुरक्षा प्रमुख तथा निर्वाचन अधिकारीहरूले जिल्लाको चुनावी तयारीबारे विस्तृत जानकारी दिएका छन् ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालका अनुसार सोमबारदेखि मोरङका सबै ३०६ मतदान स्थल र ८८८ मतदान केन्द्रहरूमा निर्वाचन कर्मचारी खटिनेछन् ।
निर्वाचनका लागि ५ हजार ३४६ कर्मचारी खटिएका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतले तालिम पनि पाइसकेका छन् ।
जिल्ला कारागार मोरङ र आदर्श पुस्तकालयमा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ, जहाँ छुट्टै कर्मचारी परिचालन गरिनेछ । मोरङमा यसपटक कुल ७ लाख ८३ हजार ५० मतदाता रहेका छन् ।
कहाँ-कहाँ हुन्छ मतगणना ?
विगतका निर्वाचनमा केही क्षेत्रको मतगणना एकै ठाउँमा गरिने भए पनि यसपटक मोरङका ६ वटै निर्वाचन क्षेत्रको मतगणना सम्बन्धित क्षेत्रमै गर्ने गरी तयारी गरिएको छ ।
यी हुन् मगणनास्थल
क्षेत्र नम्बर १ : उर्लाबारी नगरपालिका
क्षेत्र नम्बर २ : विश्वनाथ मन्दिर, सिजुवा
क्षेत्र नम्बर ३ : भगवती मावि, बेलबारी
क्षेत्र नम्बर ४ : जनता नमुना मावि, विराटनगर
क्षेत्र नम्बर ५ : सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालय
क्षेत्र नम्बर ६ : आदर्श मावि, विराटनगर
प्रदेश निर्वाचन अधिकारी दंगालका अनुसार मतगणना स्थलहरूमा तारजाली र सीसीटीभी क्यामेरासहितको सुरक्षा प्रबन्ध मिलाइएको छ ।
























