
खाँदबारी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि संखुवासभामा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्, जहाँ पूर्व शिक्षकदेखि पूर्व राजदूतसम्मको भिडन्त रोचक बन्ने देखिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीकी उम्मेदवार सरिता थापा खड्काको चर्चा जिल्लामा चुलिएको छ । १७ वर्षसम्म गणित शिक्षकका रूपमा काम गरेकी र कोशी प्रदेश सांसद तथा सामाजिक विकास समिति सभापति भइसकेकी थापाले शिक्षा क्षेत्रको सुधार र महिला सशक्तिकरणलाई आफ्नो मुख्य एजेण्डा बनाएकी छिन् ।
चैनपुर नगरपालिका–५, केरावारीमा जन्मिएकी थापासँगै प्रतिस्पर्धामा नेकपा एमालेबाट पूर्वअमेरिकी राजदूत डा. अर्जुन कार्की, नेपाली कांग्रेसका दीपन कुमार श्रेष्ठ, रास्वपाका मिङ्मा शेर्पा र माओवादी केन्द्रका पुष्पबहादुर कोइरालालगायत उम्मेदवार छन् ।
१ लाख १९ हजार ६ सय ३० मतदाता रहेको याे जिल्लामा १०९ मतदान स्थल र १६४ मतदान केन्द्र छन् ।
चुनावी अभियानका क्रममा सरिता थापाले दुर्गमका विद्यालयको शैक्षिक गुणस्तर सुधार्न र शिक्षकको हकहितका लागि सदनमा आवाज उठाउने प्रतिबद्धता जनाएकी छन् । पुराना नेता र कुटनीतिज्ञहरूसँगको यो त्रिपक्षीय भिडन्तमा ‘यसपटक महिलाको पालो’ भन्ने नाराले संखुवासभाको नतिजालाई थप कौतुहलयपूर्ण बनाएको छ ।
























