एमालेले नेपालको राष्ट्रिय स्वाभिमान विश्वस्तरमा पुर्‍यायो : ओली

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १८, सोमबार १०:०७

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले नेपालको राष्ट्रिय स्वाभिमानलाई विश्वस्तरमा माथि उठाएको बताएका छन्। झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गर्नुलाई ऐतिहासिक उपलब्धिको रूपमा व्याख्या गरे।

पहिले आफ्नो भूमि दाबी गर्ने आधार समेत नभएकोमा अहिले नक्सामा राखेर बलियो दाबी प्रस्तुत गरिएको उनले बताए। यसका साथै उनले उत्तरतर्फ चीनसँगका नाकाहरू खोलेर समुद्रसम्मको पहुँच सुनिश्चित गरेको र नेपाल अब ‘ल्यान्ड–लक्ड’ बाट ‘ल्यान्ड–लिङ्क्ड’ देश बनेको दाबी गरे। विश्वसँग जोडिने र समुद्रसम्म पुग्ने बाटो चीनतर्फबाट पनि खुलेको उनको भनाइ छ।

अध्यक्ष ओलीले राष्ट्रियताको सवालमा एमालेले कहिल्यै सम्झौता नगर्ने र देशको एक इन्च भूमि पनि नछाड्ने प्रतिबद्धता दोहोर्‍याए। उनले अन्तर्राष्ट्रिय जगत्मा नेपालको आवाज सुनिने गरी आफूले काम गरेको र देशको स्वाभिमान बढेको बताए।

आफ्नो कार्यकालमा भएका भौतिक पूर्वाधारका कामहरूको चर्चा गर्दै उनले नेपाललाई आधुनिक युगमा प्रवेश गराएको दाबी गरे। मेची–महाकाली राजमार्ग चौडा गर्ने कार्य, हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गको सुरुवात आफ्नै पहलमा भएको उनले उल्लेख गरे।

दशकमै भएको विकासको चर्चा गर्दै उनले दमकमा पहिले चापाकल मात्र भएको ठाउँमा अहिले घरघरमा खानेपानी पुगेको र सञ्चार क्षेत्रमा नेपाल विश्वस्तरमा पुगेको बताए। सुरुङ मार्ग, रेल मार्ग र भूकम्पपछिको पुनर्निर्माणमा साढे ८ लाख घर बनाएको तथ्य प्रस्तुत गर्दै उनले एमाले काम गर्ने पार्टी भएको र यसले देशको मुहार फेरेको दाबी गरे। स्वास्थ्य क्षेत्रमा पनि ठूलो फड्को मारेको बताउँदै उनले एकैपटक ३९६ पालिकामा आधारभूत अस्पतालको शिलान्यास गरेको स्मरण गरे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.