
काठमाडौं । निर्वाचनको पूर्वसन्ध्यामा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले मुलुक विधिको शासनलाई संस्थागत गर्दै संविधानको मार्गमा स्थिरताका साथ अघि बढिरहेको उल्लेख गरेकी छन् ।
पछिल्लो राजनीतिक उतारचढाव, आन्दोलन र त्यसपछिको संक्रमणकालीन अवस्थाबाट गुज्रिँदै आएको नेपाल आज निर्वाचनको संघारमा उभिएको उल्लेख गर्दै कार्कीले यस उपलब्धिलाई सम्पूर्ण नेपाली जनताको संयम, धैर्य र सहकार्यको परिणामका रूपमा व्याख्या गरिन् । प्रधानमन्त्री कार्कीले सम्बोधनमा चार प्रमुख विषय उठाउँदै नागरिक, राजनीतिक दल, उम्मेदवार, सुरक्षा संयन्त्र र विदेशमा रहेका नेपाली समुदायलाई अलगअलग सन्देश दिएकी छन् ।
आगामी निर्वाचन प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र नभई देशको भावी दिशा तय गर्ने ऐतिहासिक अवसर भएको उनको भनाइ छ । उनले सम्पूर्ण मतदातालाई मतदान प्रक्रियामा सक्रिय सहभागिता जनाउन हार्दिक अपिल गरिन् ।
मतदानलाई चुनाव चिन्हमा छाप लगाउने औपचारिकता ठान्न नहुने उल्लेख गर्दै उनले भनिन्, ‘भोट हाल्नु भनेको कसैलाई जिताएर पठाउनु मात्र नभई आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भन्ने निर्णय लिने अवसर हो ।’ फागुन २१ गते बिहीबार हुने मतदानमा अन्य सबै कामलाई पन्छाएर भए पनि मतदान केन्द्रमा पुग्न उनले आग्रह गरिन् । उनका अनुसार राजनीतिक स्थायित्व, सुशासन र समृद्धिको यात्रामा नागरिक सहभागिता नै सबैभन्दा बलियो आधार हो ।
प्रधानमन्त्री कार्कीले निर्वाचनको मौन अवधिमा पूर्ण अनुशासन र शान्ति कायम राख्न जोड दिइन् । नेपाल शान्तिपूर्ण सहअस्तित्व र सद्भावको पहिचान बोकेको मुलुक भएको उल्लेख गर्दै उनले चुनावमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने र वैमनस्य एवं मनमुटावको कुनै स्थान नरहने बताइन् । ‘फरक विचार लोकतन्त्रको सौन्दर्य हो । तर, त्यो असहिष्णुता र द्वन्द्वमा परिणत हुनुहुँदैन,’ उनले भनिन् ।
चुनावी मैदानमा उत्रिएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई धन्यवाद दिँदै उनले लोकतन्त्रलाई जीवित राख्ने शक्ति उनीहरूको सक्रियतामा निहित रहेको उल्लेख गरिन् । प्रचारप्रसारको बाँकी अवधिमा संयमित भाषा, एकअर्काप्रति सम्मान र कानुनी दायराभित्र रहेर गतिविधि गर्न उनले आग्रह गरिन् । मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न उनले विशेष अनुरोध गरिन् ।
निर्वाचनको व्यवस्थापनतर्फ संकेत गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले छोटो र चुनौतीपूर्ण समयमा पनि कार्यतालिका अनुसार तयारी पूरा गरेकोमा प्रशंसा व्यक्त गरिन् । सुरक्षा संयन्त्रहरू पूर्ण रूपमा परिचालित रहेको र मतदानलाई निष्पक्ष, स्वच्छ तथा भयरहित बनाउन सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारिन् । प्रदेश तथा स्थानीय तहहरूले आफ्नो सीमाभित्र रहेर निर्वाचन तयारीमा महत्वपूर्ण सहयोग पुर्याएको उल्लेख गर्दै उनले समन्वयात्मक प्रयासको प्रशंसा गरिन् ।
चारवटै सुरक्षा संयन्त्र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग निर्वाचन सुरक्षामा सक्रिय रहेको बताउँदै उनले कुनै कमी हुन नदिन सबै स्रोत साधन परिचालन गरिएको जानकारी दिइन् । छोटो समयमा निर्वाचन व्यवस्थापन गर्न सकेकोमा मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उल्लेख गर्दै उनले प्राविधिक, वस्तुगत र नगद सहयोग प्रदान गर्ने राष्ट्रहरू तथा संयुक्त राष्ट्रसंघीय निकायप्रति आभार प्रकट गरिन् ।
निर्वाचनकै मुखमा देशभर होली अर्थात् फागुपूर्णिमा मनाइँदै गरेको सन्दर्भ जोड्दै प्रधानमन्त्री कार्कीले सम्पूर्ण देशवासीमा शुभकामना व्यक्त गरिन् । रङहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिने उल्लेख गर्दै उनले समाजमा विद्यमान विविधतालाई अझ सुदृढ बनाउने अवसरका रूपमा होलीलाई व्याख्या गरिन् । ‘निर्वाचनको रङ र होलीको रङ मिलेर देशमा नयाँ उत्साह छाओस्,’ भन्ने कामनासहित उनले लोकतान्त्रिक अभ्यास र सांस्कृतिक परम्पराको सुन्दर संयोजनले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्कीले मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिँदै गएको र विशेष गरी इरान तथा त्यसवरपर उत्पन्न तनावप्रति सरकार गम्भीर र सचेत रहेको बताइन् । विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको उल्लेख गर्दै उनले त्यहाँ रहेका नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको स्पष्ट पारिन् ।
मध्यपूर्वका विभिन्न मुलुकमा रोजगारीका लागि गएका लाखौँ नेपाली कामदारको अवस्थाप्रति सरकार संवेदनशील रहेको बताउँदै उनले सम्बन्धित देशहरूमा रहेका नेपाली नियोगहरूलाई सक्रिय बनाइएको जानकारी दिइन् । परराष्ट्र मन्त्रालयमार्फत सघन अनुगमन भइरहेको र आवश्यक समन्वय तीव्र पारिएको उनले बताइन् । ‘नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ,’ उनले दृढतापूर्वक भनिन् ।
निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा चित्रित गर्दै प्रधानमन्त्री कार्कीले नागरिक सहभागिता, राजनीतिक संयमता, सांस्कृतिक एकता र विदेशमा रहेका नेपालीको सुरक्षालाई एउटै सूत्रमा बाँध्ने प्रयास गरेकी छन् । उनले लोकतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी सरकार र राजनीतिक दलको मात्रै नभएर प्रत्येक नागरिकको पनि भएको सन्देश दिएकी छन् ।
























