
विराटनगर । मोरङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)का तर्फबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार बनेका मेघेन्द्रकुमार रोका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
उनले आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै सोमबार नेकपामा आबद्ध भएको घोषणा गरेका हुन् । मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट ‘गुलाब’ चिन्ह लिएर निर्वाचनको मैदानमा उत्रिएका रोका चुनाव प्रचारप्रसारको अन्तिम दिन नेकपामा गएका हुन् ।
उनलाई नेकपाका उम्मेदवारसमेत रहेका चन्द्रवीर राई, नेता सुमन कालिकोटेलगायतले पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेशपछि बोल्दै रोकाले नेपालको वाम आन्दोलनको मुख्य धारा नेकपा भएको उल्लेख गर्दै आफूले त्यसैलाई बलियो बनाउने निर्णय लिएको बताए ।
उनले प्रतिनिधिसभा निर्वाचनमा नेकपाका उम्मेदवार राईलाई समर्थन गर्ने घोषणा गर्दै वाम शक्तिको एकता र देशको विकासका लागि आफूले उम्मेदवारी त्यागेको स्पष्ट पारे । रोकाले समृद्ध नेपाल निर्माण, राजनीतिक स्थायित्व र बाम आन्दोलनको रक्षा आवश्यक रहेको भन्दै मतदातासमक्ष नेकपाका उम्मेदवारलाई विजयी गराउन अपिलसमेत गरेका छन् ।
























