
विराटनगर । आगामी निर्वाचनको सरगर्मी बढ्दै जाँदा मोरङ निर्वाचन क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाको पक्षमा माहौल थप बलियो देखिएको छ ।
विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले लोकतन्त्रको रक्षा र देशको आवश्यकतालाई मध्यनजर गर्दै डा. कोइरालालाई समर्थन गर्ने र आफ्नो उम्मेदवारी निष्क्रिय बनाउने निर्णय गरेका छन् ।
यसरी समर्थन गर्नेहरूमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार बलराम खवास, जनता समाजवादी पार्टी (जसपा) नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारु छन् ।
उनीहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवार कोइरालालाई सहयोग गर्ने र समानुपातिकतर्फ मात्र आफ्नो दललाई मत माग्ने बताएका छन् ।
यसअघि नै नेपाल मजदुर किसान पार्टीका तिलक राजवंशी, जसपाका महमद जाविर र जेन्जी समूहका उम्मेदवार राम खत्रीले डा. कोइरालालाई सघाउने प्रतिबद्धतासहित निर्वाचन आयोगबाट आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
उम्मेदवारी फिर्ता लिने र निष्क्रिय बस्ने उम्मेदवारहरूले अहिलेको जटिल राजनीतिक परिस्थितिमा आफ्नो जितभन्दा पनि डा. कोइरालाको विजय देशका लागि बढी फलदायी हुने निष्कर्ष निकालेका छन् ।
क्षेत्र नं. ६ को यो नयाँ राजनीतिक ध्रुवीकरणले डा. कोइरालाको चुनावी प्रतिस्पर्धालाई थप सहज र सुनिश्चित बनाउने अनुमान गरिएको छ ।
























