
विराटनगर । नेकपा (एमाले) सचिव योगेश भट्टराईले विराटनगरको ऐतिहासिक गौरव र गुमेको साख फर्काउन प्रतिनिधिसभा निर्वाचनमा विनोद ढकालको जित आवश्यक रहेको बताएका छन् । ढकाल माेरङ क्षेत्र नम्बर ६ मा नेकपा एमालेबाट उम्मेदवार छन् । ढकालकाे चुनावी सभामा आएका भट्टराईले नेपालको राजनीतिक, औद्योगिक र सामाजिक आन्दोलनको केन्द्रका रूपमा रहेको विराटनगरले लामो समयदेखि सक्षम नेतृत्वको पर्खाइमा रहेको बताए ।
एमाले सचिव भट्टराईले नेपालको इतिहासमा विराटनगरको योगदान अतुलनीय रहेको चर्चा गरे । ‘राणा शासन विरोधी आन्दोलनदेखि प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलनको जग यही सहरले बसालेको हो,’भट्टराईले भने, ‘कृष्णप्रसाद कोइराला, विशेश्वरप्रसाद कोइराला, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाजस्ता शीर्ष नेताहरूले नेतृत्व गरेको यो सहर गौरवशाली छ ।’
उनले नेपालको पहिलो ट्रेड युनियन आन्दोलनको नेतृत्व एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले विराटनगरबाटै गरेको स्मरण गर्दै यसलाई मजदुर आन्दोलनको उद्गम स्थलको रूपमा व्याख्या गरे । यद्यपि, पछिल्लो समय विराटनगरले आफ्नो क्षमता अनुसारको जनप्रतिनिधि पाउन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । भट्टराईले भने, ‘यो एउटा ठूलो औद्योगिक, व्यवसायिक र व्यापारिक सहर हो । तर यसले खोजे जस्तो र रोजे जस्तो नेतृत्व पाउन सकेको छैन । अबको निर्वाचनमा विराटनगरबासीले त्यो अवसर चुकाउनु हुँदैन भन्ने मेरो विश्वास छ ।’
उनले चुनावको समयमा पार्टीको भूमिका हुने भए पनि मुख्य कुरा उम्मेदवारको योग्यता र क्षमता हुनुपर्नेमा जोड दिए । ‘विराटनगरको जवानी कसले फर्काउन सक्छ ? महानगरबासीले गम्भीर भएर सोच्ने बेला आएको छ,’ उनले अगाडि भने,’विराटनगरको कुनाकाप्चा बुझेको र विकासको स्पष्ट खाका भएको मान्छे विनोद ढकाल हुन् । उहाँ विजयी भए उहाँकाे राष्ट्रिय छवि र कार्यक्षमताले विराटनगरलाई पुनः विकासको उचाइमा पुर्याउनेछ ।’
भट्टराईले विराटनगरको हरेक क्षेत्रमा विनोद ढकालको नाम जोडिएको र उनी स्थानीयस्तरमा भिजेको नेता भएकाले उनलाई विजयी गराउनु विराटनगरकै हितमा हुने बताए ।
























