प्रतिनिधिसभा निर्वाचन : मध्यरातिदेखि मौन अवधि सुरु

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १९, मंगलबार ००:००

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार मध्यराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अगाडिदेखि निर्वाचन प्रचारप्रसारमा रोक लगाइएको हो ।

निर्वाचन आयोगले उम्मेदवारहरूलाई फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म चुनावी प्रचारप्रसारको समय उपलब्ध गराएको थियो । उक्त अवधिभर राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले देशव्यापी रूपमा चुनावी अभियान, घरदैलो, कोणसभा र आमसभाहरू सम्पन्न गरेका छन् ।

प्रचारप्रसारको अन्तिम दिन सोमबार विराटनगर लगायत देशभरका निर्वाचन क्षेत्रहरूमा उम्मेदवारहरूले शक्ति प्रदर्शन गर्दै अन्तिम र्‍याली र घरदैलो कार्यक्रम आयोजना गरे । उम्मेदवारहरूले आफ्ना एजेन्डा र प्रतिबद्धताहरू मतदातामाझ राख्दै अन्तिम पटक मत मागेका छन् ।

मौन अवधि सुरु भएसँगै अब कुनै पनि प्रकारका चुनावी सभा, जुलुस, र्‍याली वा प्रचारप्रसारका कार्यक्रम गर्न पाइने छैन । यसैगरी, सामाजिक सञ्जाल, अनलाइन माध्यम वा एसएमएसमार्फत मत माग्न र निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि सामग्री सम्प्रेषण गर्न निर्वाचन आयोगले रोक लगाएको छ ।
आयोगले मौन अवधिको पूर्ण पालना गर्न उम्मेदवार, दलका कार्यकर्ता र सरोकारवाला सबैलाई आग्रह गरेको छ । यस अवधिको उल्लंघन भएमा कानुनी कारबाही हुने चेतावनी समेत दिइएको छ ।

मौन अवधि सुरु भएपछि अब सबैको ध्यान फागुन २१ गते हुने मतदान र त्यसको परिणामतर्फ सोझिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.