
काठमाडौं । गत माघ ११ गते सम्पन्न निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका सदस्यहरूको फागुन २५ गते पद तथा गोपनीयताको शपथ ग्रहण हुने भएको छ ।
नवनिर्वाचित १८ जना सदस्यको शपथ ग्रहण फागुन २५ गते दिउँसो २ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा हुने संघीय संसद् सचिवालयले सूचना जारी गर्दै जानकारी दिएको हो ।
सचिवालयले जारी गरेको सूचनामा नवनिर्वाचित सदस्यहरूलाई शपथ ग्रहण समारोहमा उपस्थित हुँदा औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ ।
नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका लागि सचिवालयले विशेष व्यवस्था गरेको छ । मातृभाषामा शपथ लिन चाहने सदस्यले शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको एक प्रति फागुन २४ गतेसम्म संसद् सचिवालयमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
शपथ लिने सदस्यहरूमा महन्थ ठाकुर, रामकुमारी झाँक्री, सुनिलबहादुर थापा, ललितजंग शाही, रोशनी मेचे, धमेन्द्र पासवान, रन्जित कर्ण, रेखा झा, सोम पोर्तेल, गीता देवकोटा, डा. प्रेम दंगाल, जगत तिमिल्सिना, सम्झना देवकोटा, वासुदेव जंगली, चन्द्रबहादुर केसी, मिना रखाल, खम्मबहादुर खाती र लीला भण्डारी रहेका छन् ।
राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल समाप्त भएपछि रिक्त स्थानका लागि गत माघमा निर्वाचन भएको थियो ।

























