
विराटनगर । कोशी प्रदेशमा ३.५९ प्रतिशत मतदान भएको छ । यो समाचार तयार पार्दासम्म १ लाख २६ हजार ३ सय १८ मत खसिसकेको हो ।
मतदातामध्ये ७३ हजार ३ सय ६५ पुरुष र ५२ हजार ९ सय ५३ महिलाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् । सबै मतदान केन्द्र र मतदानस्थलमा उत्साहपूर्वक मतदान जारी छ । शान्तिपूर्ण हिसाबले भइरहेको मतदानमा मत दिन मतदाता लाइनमा बसेका छन् ।
यो समाचार तयार पार्दासम्म झापामा ३.०७, इलाममा २.३३, पाँचथरमा ५.८८, ताप्लेजुङमा २.०३, मोरङमा ३.२७, सुनसरीमा ३.४८, धनकुटामा २.३६, तेह्रथुममा ५.०२, संखुवासभामा ४.७८, भोजपुरमा ४.१४, उदयपुरमा ५.२०, ओखलढुंगामा २.४६, खोटाङमा २.९७ र सोलुखुम्बुमा ६.६६ प्रतिशत मतदान भएको छ ।
कोशीमा ३५ लाख ७४ हजार ३ सय १० मतदातामध्ये १७ लाख ४६ हजार ७३ महिला, १८ लाख २८ हजार २ सय १३ पुरुष र २४ जना अन्य छन् । १ हजार ९ सय ७ मतदानस्थल तथा स्थायी र अस्थायी गरेर ४ हजार २ सय ९४ मतदान केन्द्र छन् ।
१४ जिल्ला रहेको कोशी प्रदेशमा २८ वटा निर्वाचन क्षेत्र छन् । ४ सय ९५ उम्मेदवार चुनावी मैदानमा छन् ।
























