
विराटनगर । मोरङ जिल्लामा प्रतिनिधिसभा निर्वाचनमा पुरुषको तुलनामा महिला मतदाताको सहभागिता बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, मतदान प्रक्रियामा महिलाहरूको सक्रियता निकै उत्साहजनक पाइएको हो ।
६ वटा निर्वाचन क्षेत्रमा कुल ५ लाख ५ हजार ५ सय १४ मत खसेको छ । जसमध्ये महिला मतदाताको संख्या २ लाख ६२ हजार १ सय ९६ रहेको छ । पुरुष मतदाताको संख्या २ लाख ४३ हजार ३ सय १६ छ । पुरुषको तुलनामा महिला मतदाताको संख्या १८ हजार ८ सय ८० ले बढी रहेको देखिन्छ ।
जिल्लाभर कुल ८८८ मतदान केन्द्रबाट मतदान भएको थियो । जिल्लाको जम्मा मतदाता संख्या ७ लाख ८३ हजार ५० रहेकोमा समग्रमा ६४.५६ प्रतिशत मत खसेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार पुरुषहरू वैदेशिक रोजगारीका लागि बाहिर रहेका कारण र स्थानीय स्तरमा महिलाहरूमा बढेको राजनीतिक चेतनाले गर्दा मतदानमा महिलाको संख्या बढी देखिएको हो ।
























