
विराटनगर । मोरङ क्षेत्र नम्बर-६ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य फराकिलो मतान्तरसहित विजयी भएकी छन् ।
नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई भारी मतले पछाडि पार्दै उनले जित दर्ता गराएकी हुन् ।
अन्तिम मत परिणाम अनुसार विजयी आचार्यले ५५ हजार ५ सय १३ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी डा. कोइरालाले १२ हजार ८ सय ५० मत मात्र ल्याए । दुवैबिचको मतान्तर ४२ हजार ६ सय ६३ रहेको छ।
नेकपा एमालेका विनोदप्रसाद ढकाल ८ हजार ३ सय १७ मत प्राप्त गर्दै तेस्रो भए । श्रम संस्कृति पार्टीका उम्मेदवार मातृका पौडेलले ३ हजार ४ सय मत हासिल गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सविन निरौला जम्मा २ हजार ९२ मतसहित पाँचौँ स्थानमा रहे ।
























