
काठमाडौँ। ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने नाराका साथ चुनावी मैदानमा होमिएका नेपाली कांग्रेसका दुई प्रभावशाली महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरे प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। विशेष महाधिवेशनबाट महामन्त्री बनेका यी युवा नेताहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले ठूलो मतान्तरले पाखा लगाएका हुन्।
मोरङ–४ बाट महामन्त्री गुरुराज घिमिरे रास्वपाका सन्तोष राजवंशीसँग २८ हजार १५ मतान्तरले पराजित भए। राजवंशीले ४० हजार ८ सय ३३ मत प्राप्त गर्दा घिमिरेले मात्र १२ हजार ८ सय १८ मत पाए। नेविसंघका पूर्वअध्यक्ष समेत रहेका घिमिरे पार्टीभित्र नीति र नेतृत्व परिवर्तनको एजेन्डा उठाएर चर्चामा थिए।
यस्तै, काठमाडौँ–५ बाट अर्का महामन्त्री तथा पूर्वस्वास्थ्य मन्त्री प्रदीप पौडेल पनि रास्वपाकै उम्मेदवार सस्मित पोखरेलसँग पराजित भएका छन्। पोखरेलले ३० हजार ७ सय ३७ मत ल्याउँदा पौडेलले ९ हजार १ सय ५९ मत मात्र प्राप्त गरे। उनीहरूबीचको मतान्तर २९ हजार ५ सय ७८ रहेको छ।
कांग्रेसका अर्का वरिष्ठ नेता डा. शेखर कोइराला पनि मोरङ–६ बाट फराकिलो मतान्तरले पराजित भएका छन्। उनलाई रास्वपाकी रुबिना आचार्यले ४२ हजार ६ सय ६३ मतान्तरले पराजित गरिन्। आचार्यले ५५ हजार ५ सय १३ मत ल्याउँदा कोइरालाले १२ हजार ८ सय ५० मत मात्रै पाए।
धनुषा–४ मा पनि कांग्रेसका पूर्व पदाधिकारी विमलेन्द्र निधिलाई रास्वपाका मनिष झाले स्तब्ध पारेका छन्। झाले ४३ हजार १ सय ४२ मत ल्याएर विजयी हुँदा निधि १५ हजार ९ सय ९२ मतमा खुम्चिए। झा र निधिबीचको मतान्तर २७ हजार १ सय ५० रहेको छ। कांग्रेसका स्थापित नेताहरूको यो पराजयले नेपाली राजनीतिमा नयाँ शक्तिको उदयलाई थप बलियो गरी पुष्टि गरेको छ।
























