मोरङमा रास्वपा : दुईवटा क्षेत्रमा जित्यो, चारवटामा फराकिलो अग्रता

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार ११:२९
सन्तोष राजवंशी र रुविना आचार्य ।

विराटनगर । मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनबाट उत्कृष्ट नतिजा हासिल गरिरहेको छ । मोरङमा रहेका छ वटा निर्वाचन क्षेत्रमध्ये २ वटामा विजय हासिल गरिहेको छ ।

बाँकी चारवटा पनि रास्वपाले फराकिलो अग्रता बनाइरहेको छ । मोरङको निर्वाचन क्षेत्र नम्बर ४ मा सन्तोष राजवंशी र क्षेत्र नम्बर ६ मा रुविना आचार्य भारी मतान्तरले विजयी भएका हुन् । राजवंशीले ४० हजार ८ सय ३३ मत प्राप्त गर्दै नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई पराजित गरे ।

वैचारिक, अनुभवी, पुराना र निष्ठावान राजनीतिज्ञ मानिने घिमिरे १२ हजार ८१८ मतमा रोकिँदै राजनीतिमा भर्खरै उदाएका राजवंशीसँग लज्जास्पद हार बेहोरेका हुन् । राजवंशी र घिमिरेको मतान्तर २८ हजार १५ छ ।

उक्त क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अमनलाल मोदी १० हजार ७ सय ६२ र नेकपा (एमाले)का जीवन घिमिरे ६ हजार ९ सय ३३ मतमा सीमित भए । मोदी निवर्तमान सांसद र घिमिरे एमाले केन्द्रीय सदस्य हुन् । घिमिरेको त जमानत नै जफत भएको छ ।

मोरङ–६ बाट निर्वाचित रास्वपाकी आचार्यले ५५ हजार ५ सय १३ मत ल्याउँदा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला १२ हजार ८ सय ५० मतमा रोकिए । आचार्य र कोइरालाको मतान्तर ४२ हजार ६ सय ६३ छ ।

राजनीतिमा नयाँ अनुहारका रुपमा चिनिएकी आचार्यले नेपाली राजनीतिका पुराना हस्तीलाई नराम्रोसँग पराजित गरेकी छन् । मोरङ–६ मा तेस्रो भएका एमालेका विनोद ढकालले ८ हजार ३ सय १७ मत र चौथो स्थानमा रहेका श्रम संस्कृति पार्टीका मातृका पौडेलले ३ हजार ४ सय मत पाएका छन् । ढकाल र पौडेलको जमानतसम्म जोगिएन ।

मतगणना जारी रहेका मोरङका अरु क्षेत्रमा पनि रास्वपाको राम्रो प्रदर्शन छ । रास्वपाका उम्मेदवारले अग्रता फराकिलो बनाउँदै लगेका छन् । हालसम्म सार्वजनिक गरिएको मतपरिणाम अनुसार क्षेत्र नम्बर १ मा रास्वपाका यज्ञमणि न्यौपा १७ हजार ६० मतका साथ अगाडि छन् ।

श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामा १० हजार ९ सय १५ मतका साथ दोस्रो स्थानमा रहँदा कांग्रेसका खड्गबहादुर फागोको ७ हजार ७ सय ८४ तथा एमालेका घनश्याम खतिवडाको ५ हजार ९ सय ९९ छ ।

क्षेत्र नम्बर २ मा २८ हजार ५ सय ४६ मतसहित अग्रस्थानमा छन् । एमालेका दिलिप बगडियाको ११ हजार ९३ र कांग्रेसका मिनेन्द्र रिजालको ९ हजार ७० मत छ ।

क्षेत्र नम्बर ३ मा १३ हजार ४ सय ३७ मतसहित रास्वपाका गणेश कार्की अगाडि छन् । कांग्रेसका सुनीलकुमार शर्मा ८ हजार ९ सय ५३, श्रम संस्कृति पार्टीका अमिर मगरले ७ हजार ३ सय र एमालेका इरनकुमार राईको २ हजार ८ सय ३१ मत छ ।

मोरङ क्षेत्र नम्बर ५ मा रास्वपाकी आशा झा २० हजार २ सय ७४ मतसहित अग्रस्थानमा छिन् । कांग्रेसका फलुकुमार लालवानी ७ हजार ६ सय ८८ मतसहित दोस्रो, नेकपाका शिवकुमार मण्डल ६ हजार ७ सय १२ मतसहित तेस्रो, जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकुमार यादव ६ हजार २ सय ५६ मतसहित चौथो र एमालेका मनोजकुमार अग्रवाल ५ हजार ९ सय ४४ मतसहित पाँचौं स्थानमा छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.