
विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘गढ’ मानिने झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले जित सुनिश्चित गरेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार बालेनले आफ्ना निकटतम प्रतिद्वन्द्वी ओलीलाई निकै फराकिलो मतान्तरले पछि पारेका हुन् ।
७५ हजार ३ सय ७७ मत गणना भइसक्दा बालेन शाहले ४७ हजार ७ सय ७ मत प्राप्त गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने मात्र १२ हजार ६ सय ९९ मत प्राप्त गरेका छन् ।
बालेन शाह ३५ हजार ८० मतान्तरले अगाडि देखिएका छन् । अब गणना हुन बाँकी मतको संख्या मात्र ३० हजार ९ सय ९५ छ ।
अब गणना हुन बाँकी रहेका सबै मत केपी ओलीकै पक्षमा खसे पनि उनले बालेन शाहलाई भेट्टाउन असम्भव देखिएको छ । बालेनको हालको अग्रता (३५,०८०) बाँकी रहेको कुल मत (३०,९९५) भन्दा ४ हजार ८५ ले बढी छ ।
























