एमाले अध्यक्ष ओलीसहित शीर्ष १० पदाधिकारी संसद् बाहिर हुने निश्चित

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार १५:४१

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को परिणामसँगै नेकपा (एमाले) का शीर्ष नेतृत्वलाई ठूलो धक्का लागेको छ। प्रत्यक्षतर्फ निर्वाचन लडेका अध्यक्ष केपी शर्मा ओलीसहित १० जना उच्च पदाधिकारीहरू आगामी ५ वर्षका लागि संसद् बाहिर हुने निश्चित भएको हो।

एमालेका १९ पदाधिकारीमध्ये ११ जना प्रत्यक्ष निर्वाचनमा उत्रिएका थिए। जसमध्ये अध्यक्ष ओली झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाहसँग भारी मतान्तरले पछि परेपछि उनको पराजय निश्चित देखिएको छ। यस्तै, रुपन्देही–२ मा उपाध्यक्ष विष्णु पौडेल रास्वपाका सुलभ खरेलसँग र गुल्मी–२ मा अर्का उपाध्यक्ष गोकर्ण विष्ट रास्वपाकै गोविन्द पन्थीसँग पराजित भइसकेका छन्। लमजुङमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पनि गणनामा निकै पछि रहेकाले उनको जित्ने सम्भावना टरेको छ।

महासचिव शंकर पोखरेल दाङ–२ मा रास्वपाका विपिन आचार्यसँग पराजित भएका छन्। उपमहासचिव लेखराज भट्ट कैलाली–४ मा निकै पछाडि छन् भने अर्का उपमहासचिव रघुवीर महासेठ धनुषामा रास्वपाका राजकिशोर महतोसँग पराजित भइसकेका छन्। सचिवहरू महेश बस्नेत (भक्तपुर–२), राजन भट्टराई (काठमाडौँ–४) र भानुभक्त ढकाल (तेह्रथुम) ले पनि हार बेहोर्नु परेको छ।

भोजपुरमा सचिव शेरधन राईको मतगणना जारी रहे पनि उनी करिब १ हजार मतान्तरले पछि छन्। त्यहाँ हर्क राई नेतृत्वको पार्टी र नेपाली कम्युनिस्ट पार्टीबीच मुख्य प्रतिस्पर्धा देखिएकाले राईको अवस्था कमजोर छ। यदि शेरधन पनि पराजित भएमा एमालेबाट प्रत्यक्ष लडेका सबै ११ पदाधिकारी संसद् बाहिर हुनेछन्।

पदाधिकारीमध्ये रामबहादुर थापा ‘बादल’ र पद्मा अर्याल समानुपातिक सूचीमा छन् भने रघुजी पन्त, छविलाल विश्वकर्मा र खगराज अधिकारी यसपटक निर्वाचन लडेनन्। त्यस्तै, कोशीका मुख्यमन्त्री हिक्मत कार्की र कर्णालीका मुख्यमन्त्री यमलाल कँडेल पनि प्रतिनिधिसभाको प्रतिस्पर्धामा थिएनन्। एमालेका हस्तीहरूलाई पराजित गर्न अधिकांश क्षेत्रमा रास्वपाका उम्मेदवारहरू सफल देखिएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.