
विराटनगर । नेपाल प्रहरीका पूर्वएआईजी (पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक) विश्वराज पोखरेल ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार रहेका पोखरेल ५ मतको अन्तरले विजयी भएका हुन् । निर्वाचन आयोगका अनुसार ५९ वर्षीय पोखरेल १३ हजार ९५३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले १३ हजार ९४८ मत पाएका छन् ।
उनीहरुबीचको मतान्तर ५ मात्रै रहेको हो । एउटा मात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार अम्बिरबाबु गुरुङ ११ हजार २९६ मतसहित तेस्रो स्थानमा छन् ।
गुरुङ एमालेमा हुँदा पार्टीका सचिव एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईको विश्वासपात्र थिए । ओखलढुंगामा नेकपा (एमाले)की अस्मिता थापा १० हजार ७२० मतसहित चौथो स्थानमा रहेकी छन् । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उद्धवकुमार राई ३ हजार ८५८ मतमा रोकिएर पाँचौं भएका छन् ।
ओखलढुंगामा रास्वपाबाट निर्वाचित भएका पूर्वएआईजी पोखरेलले नेपाल प्रहरीको जागिरे जीवनमा निक्कै उतारचढाव झेलेका छन् । मुखैमा आएको आईजीपी (प्रहरी महानिरीक्षक) पद तत्कालीन सरकारले अर्कैलाई दिएको थियो ।

२०७९ साल वैशाख १८ गते उनलाई रोक्दै धीरजप्रताव सिंहलाई नेपाल प्रहरीको २९ औं आईजीपी नियुक्त गरियो । स्वार्थ समूहको चलखेलसँगै वरीयताको पहिलो नम्बरमा रहेका पोखरेललाई छाडेर सिंहलाई आईजीपी बनाइएको थियो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले तेस्रो वरीयतामा रहेका सिंहलाई ‘टपक्कै टिपेर’ आईजीपी बनाउँदा चौतर्फी विरोध भएको थियो । गृह मन्त्रालयले भने पोखरेललाई नै आईजीपी बनाउन प्रस्ताव गरेको थियो ।
मन्त्रालयले एक नम्बर वरीयतामा रहेका पोखरेललाई आईजीपीमा नियुक्त गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाँदा उनी देउवाको रोजाइमा पर्न सकेनन् । विशेष गरेर देउवा पत्नी एवं पूर्वमन्त्री आर्जु राणा देउवाको रोजाइमा सिंह परेका थिए । देउवाले पनि पत्नीको कुरा काट्न नसक्दा त्यो बेला विवादित हिसाबले नेपाल प्रहरीमा आईजीपी नियुक्त गरिएको थियो ।
तर, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण भने पोखरेलकै पक्षमा थिए । नेपाल प्रहरीको इन्स्पेक्टरमा २०४९ चैत ११ गते भर्ना भएका पोखरेलको २०७७ साल मंसिर २५ गते एआईजीमा एकल बढुवा भएको थियो । तर, उनीभन्दा एआईजीमा निक्कै जुनियर रहेका सिंह आईजीपी बन्न सफल भएपछि पोखरेलले प्रहरीको जागिरबाट राजीनामा दिनुपर्ने अवस्था आएको थियो ।
त्यतिबेला ठूलो रकमको चलखेल गरेर आईजीपी नियुक्त गरिएको चर्चा थियो । अहिले देउवा दम्पती राजनीतिक रुपमा पतन हुँदा पोखरेलले भने चुनाव लडेर सांसद जितेका छन् ।
किशोरीको यस्तो सुझाव
जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते काठमाडौंको बानेश्वरमा गोली लागेर घाइते भएकालाई मोटरसाइकलमा राखेर उद्धार गर्दै चर्चामा आएकी किशोरी कार्की प्रतिनिधिसभा निर्वाचनमा ओखलढुंगाबाट पराजित भएकी छिन् ।
२६ वर्षीया जेनजी उनी ओखलढुंगा निर्वाचन क्षेत्रमा विजयी भएका विश्वराज पोखरेलसँग १२ हजार ९८८ मतको भारी अन्तरले पराजित भएकी हुन् । निर्वाचन आयोगका अनुसार कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएकी कार्कीले ९६५ मत मात्रै ल्याएकी छन् ।

पराजित भएसँगै उनले रास्वपाबाट जित हात पारेका पोखरेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएकी छन् । उनले ओखलढुंगा जिल्ला र देशको विकासका लागि अझ उत्कृष्ट काम गर्न पोखरेललाई सुझाव दिइन् ।
























