बबाल गर्ने हर्क साम्पाङको चेतावनी : ‘सदनमा बोल्ने नेतृत्व चाहिन्छ, प्रधानमन्त्री रवि हुनुपर्छ’

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार १२:१८
‘रास्वपाले देश चलाउन सक्दैन भन्ने प्रमाणित भइसक्यो’: हर्क साम्पाङ

विराटनगर । सुनसरीको निर्वाचन १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) विजयनजिक पुगेका बेला उनले आगामी सरकारको नेतृत्वका बारेमा दिएको अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्माएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अब बन्ने सरकारको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् । मतगणना अन्तिम चरणतिर पुगेको अवस्थामा आफू संसदमा पुग्ने लगभग निश्चित देखिँदा साम्पाङले सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा स्पष्ट मत व्यक्त गरेका छन् ।

संसदमा जनताका प्रश्न उठ्दा त्यसको स्पष्ट उत्तर दिने, समय दिने र संवाद गर्न सक्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि रवि लामिछाने उपयुक्त हुने बताएका छन् । फेसबुकमा लेखिएको उनको स्टाटस छोटो भए पनि त्यसले राजनीतिक सन्देश भने प्रस्ट रूपमा दिएको छ । साम्पाङले लेखेका छन्, ‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ । तर, सरकारको नेतृत्व रविले गर्दा राम्रो हुन्छ । सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ । नबोल्ने मान्छेले विस्तारमा उत्तर दिन सक्दैन ।’

रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा वरिष्ठ नेता बालेन शाह (बालेन्द्र)लाई अघि सारिसकेको छ । बालेनले चुनाव पनि जितिसकेका छन् । बालेनले चुनाव जितिसकेपछि साम्पाङले भने अर्थपूर्ण अभिव्यक्ति दिएका छन् ।

रास्वाले बालेनलाई प्रधानमन्त्रीको सम्भावित अनुहारका रूपमा अघि सार्दै झापा–५ बाट चुनाव लडाएको थियो । उक्त निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गर्दै बालेन राष्ट्रिय राजनीतिमा सनसनीपूर्ण प्रवेश गरेका छन् ।

यही पृष्ठभूमिमा बालेनलाई प्रधानमन्त्री बनाउने चर्चा तीव्र बनेको छ । तर, साम्पाङले भने फरक मत राख्दै सरकारको नेतृत्व रास्वपा सभापति रविले गर्नुपर्ने मत व्यक्त गरेका हुन् । उनका अनुसार संसदमा प्रत्यक्ष संवाद गर्न सक्ने र जनताका प्रश्नको जवाफ दिन सक्ने नेतृत्व अहिलेको राजनीतिक परिस्थितिमा अत्यन्त आवश्यक छ ।

सुनसरी–१ मा साम्पाङ स्वयं पनि फराकिलो अग्रतासहित विजयनजिक पुगेका छन् । यो समाचार तयार पार्दासम्म उनले ३४ हजार ६२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी रास्वपा उम्मेदवार गोमा तामाङ (सरिन)को २३ हजार ४२५ मत छ । साम्पाङ १० हजारभन्दा बढी मतान्तरले अघि रहेका छन् ।

धरान उपमहानगरपालिकाको मेयरका रूपमा लोकप्रिय बनेका साम्पाङले श्रम संस्कृति पार्टी गठन गरेर यसपटक प्रतिनिधिसभा चुनाव लडेका हुन् । मतगणनाको वर्तमान अवस्थाले उनी संसदमा पुग्ने लगभग निश्चित देखिएको छ ।

निर्वाचन परिणामसँगै नयाँ राजनीतिक शक्तिले विजय हासिल गरिरहेका बेला साम्पाङले सार्वजनिक गरेको सरकारको नेतृत्वसम्बन्धी धारणालाई भने राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । उनले रविले सरकारको नेतृत्व नगरे ‘बबाल हुनेछ’ भनेर चेतावनीसमेत दिएका छन् ।

साम्पाङ लामो समयदेखि बालेन र उनको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएका छन् । उनले सार्वजनिक रुपमै बालेनको विरोध गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.