मोरङ–३ : गणेश कार्कीसँग हार्यो सुनील शर्माको समाजसेवा

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार १४:२४

विराटनगर । मोरङको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्की नेपाली कांग्रेसका डा. सनीलकुमार शर्मालाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै विजयी भएका छन् ।

कार्कीले ३६ हजार ९ सय २४ मत ल्याए भने शर्मा २४ हजार ३ सय ५४ मतमा रोकिन पुगे । अन्य उम्मेदवारमा श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५ सय ९ मत पाएका छन् । नेकपा (एमाले)का इरनकुमार राई ७ हजार ७ सय ५२ र नेकपाका डा. देउमान सम्बाहाङफे १ हजार २ सय ५९ मतसम्म सीमित रहे ।

डा. शर्मा आफ्नो राजनीतिक जीवनसँगै स्वास्थ्य क्षेत्रका व्यवसायी, मेडिकल कलेज सञ्चालक र समाजसेवीका रूपमा परिचित छन् । उनले मोरङ र आसपासका क्षेत्रमा स्वास्थ्य सेवा, शिक्षा र सामाजिक सहयोगका कार्यक्रममार्फत दीर्घकालीन योगदान गर्दै आएका छन् ।

विशेषगरी विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको काठमाडौं मेडिकल कलेजमार्फत उनले पूर्वी नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याइरहेका छन् । नोबेल अस्पतालले पूर्वी नेपालका थुप्रै जिल्लाका बिरामीलाई सहज उपचार सुविधा प्रदान गरेको छ । आर्थिक रूपमा कमजोर बिरामीहरूलाई निःशुल्क वा सहुलियतमा उपचार उपलब्ध गराउने डा. शर्माको मुख्य उद्देश्य हो ।

मोरङ–३ का गरिब परिवारका बिरामीलाई स्वास्थ्य बीमा शुल्क तिरिदिनेदेखि निःशुल्क उपचार गर्ने र क्षेत्रकै अन्य बिरामीलाई ५० प्रतिशत छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउनेजस्ता कामले डा. शर्मा चर्चित थिए । उनले मोरङका गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् । उपचार खर्च नभएका बिरामीले सहजै उपचार पाउँथे । चर्चित महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’को समेत निःशुल्क उपचार गराइदिने घोषणा शर्माले गरेका थिए ।

शिक्षा क्षेत्रमा पनि डा. शर्माको योगदान उल्लेखनीय छ । रतुवामाईको जनता माध्यमिक विद्यालयमा २ करोड रुपैयाँको भौतिक संरचना निर्माण, छात्रवृत्ति र शैक्षिक सुधारमा सहयोग पुर्‍याएका छन् ।

गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति कोष निर्माण तथा दलित, आदिवासी, मुस्लिम र विपन्न समुदायका विद्यार्थीलाई प्राविधिक र मेडिकल शिक्षा निःशुल्क वा सहुलियतमा उपलब्ध गराउँदै आएका शर्मा निर्वाचनमा भने पराजित भएका छन् । उनी सामाजिक सेवा, स्वास्थ्य र शिक्षासँगै स्थानीय पूर्वाधार विकास, सरसफाइ, विपद् राहत तथा समुदाय विकासमा समेत केन्द्रित छन् ।

आर्थिक अभावले गर्दा नागरिक पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति र शैक्षिक सहयोग कार्यक्रम अघि बढाइरहेका छन् । तर, राजनीतिसँगै समाजसेवामा यति विशाल योगदान दिइरहेका डा. शर्मा प्रतिनिधिसभा निर्वाचनमा पराजित हुन पुगे ।

कांग्रेसका एक नेताले भने, ‘आफ्नो क्षेत्रका बिरामीलाई उच्च प्राथमिकतामा राखेर निःशुल्क एवं सहुलियत उपचार प्रदान गर्दै आएका डा. शर्माले आज चुनावमा पराजित हुनु परेको छ । समाजसेवाका क्षेत्रमा नाम नै नसुनिएको व्यक्तिबाट नराम्रोसँग हार बेहोर्नु पर्यो । जनमतको कदर गर्नैपर्छ । तर, यति ठूलो योगदान दिने व्यक्तिलाई चुनाव हराउँदा भविष्यमा स्वास्थ्यदेखि शैक्षिक क्षेत्रलगायत सामाजिक गतिविधिमा चुनौती आउन सक्ने अवस्था बन्यो ।’

तर, डा. शर्मा भने चुनावी परिणामले समाजसेवामा कुनै असर नपर्ने बताउँछन् । ‘चुनाव एउटा लोकतान्त्रिक प्रक्रिया हो । यसमा हारजित स्वभाविक हुन्छ । चुनावी परिणामले स्वास्थ्य, शिक्षा, विकास निर्माण र सामाजिक सेवामा कुनै असर गर्दैन । अझै सक्रियताका साथ काम गर्ने मेरो प्रतिबद्धता छ,’ उनले भने । उनले कार्कीलाई बधाई एवं कार्यकाल सफलताको शुभकामनासमेत दिएका छन् ।

शर्मालाई हराएर विजयी बनेका कार्कीले पनि मोरङ–३ को विकासमा आफ्नो महत्वपूर्ण भूमिका रहने बताएका छन् । उनले भने, ‘हाम्रो पहिलो प्राथमिकता पूर्वी नेपालको विकास र जनताको जीवनस्तर सुधार हो । संसदमा नीति निर्माणसँगै स्वास्थ्य, शिक्षा, पूर्वाधार र रोजगारका क्षेत्रमा ठोस पहल गर्नेछु ।’

डा. शर्मा स्वास्थ्य र शिक्षासहित समाजसेवामा विशेष योगदान पुर्‍याउने राजनीतिज्ञ हुन् । कार्कीले पनि नयाँ नेतृत्वका रूपमा विकास र राजनीतिक सक्रियतामा योगदान दिने अपेक्षा राखिएको छ ।

मोरङ–३ को निर्वाचनले एउटा नयाँ राजनीतिक यथार्थ प्रस्तुत गरेको छ । मतदाताले समाजसेवा र राजनीतिक नेतृत्वको मूल्यांकन गर्ने क्रममा परम्परागत दलबाट उम्मेदवार बनेका डा. शर्मालाई छाडेर वैकल्पिक राजनीतिक शक्ति रास्वपाका कार्कीलाई रोजेका छन् ।

मोरङ–३ को अन्तिम मतपरिणामलाई गणेश कार्कीसँग सुनील शर्माको समाजसेवा हारेको रूपमा लिइएको छ । डा. शर्माले राजनीतिसँगै समाजसेवालाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता गरिरहँदा कार्कीले पनि क्षेत्रको विकास र जनताको भलाइमा महत्वपूर्ण योगदान दिने बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.