ध्रुवराज राई र शेरधन राई ।भोजपुर । भोजपुरको प्रतिनिधिसभा निर्वाचन परिणामले जिल्लाको राजनीतिक समीकरणलाई मात्र नभएर पुरानो शक्ति संरचनालाई समेत गम्भीर रूपमा चुनौती दिएको छ ।
कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सचिव शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृति पार्टीका ध्रुवराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि भोजपुरको राजनीतिमा नयाँ अध्याय सुरु भएको हो । आफ्नै पूर्वनेता र शक्तिशाली राजनीतिक व्यक्तित्वलाई हराउँदै ध्रुवराज राईले पहिलोपटक संघीय संसद प्रवेश गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार ध्रुवराज राईले १६ हजार ६६३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शेरधन राईले १४ हजार ७५० मत पाए । यसरी ध्रुवराजले १ हजार ९१३ मतान्तरले एमालेका प्रभावशाली नेता एवं पूर्वमुख्यमन्त्रीलाई पराजित गर्दै ऐतिहासिक जीत हासिल गरेका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण थापा ८ हजार ६७० मतसहित तेस्रो स्थानमा रहे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेशप्रसाद ओझाले ६ हजार १०२ मत प्राप्त गर्दै चौथो स्थान हासिल गरे भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अजम्बर राई काङमाङ ५ हजार ७२८ मतसहित पाँचौं स्थानमा रहेका छन् ।
यस निर्वाचनमा भोजपुरबाट १२ राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । मतदान प्रतिशत भने अपेक्षाकृत कम रह्यो । कुल १ लाख २५ हजार ७६६ मतदाता रहेको भोजपुरमा ५७ हजार ५९९ मत खसेको थियो । कम मतदानका बीच आएको परिणामले जिल्लाको पुरानो राजनीतिक प्रवृत्तिमा परिवर्तन गरिदिएको छ ।
ध्रुवराजको विजयलाई सामान्य चुनावी परिणाम मात्र नभई ‘राजनीतिक कमब्याक’को रूपमा पनि हेरिएको छ । टेम्केमैयुङ गाउँपालिकाका पूर्वअध्यक्ष रहेका उनले २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर अध्यक्ष पदमा पराजय भोगेका थिए । उनी २०७४ सालमा त्यही गाउँपालिकाको अध्यक्ष बनेका हुन् । २०७९ को हारपछि केही समय उनी सक्रिय राजनीतिबाट ओझेलमा परे ।
तर, संसदीय निर्वाचन आउँदै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी प्रवेश गरेर प्रतिनिधिसभाको टिकट लिए । अहिले उल्लेखनीय मतसहित विजयी हुँदै आफूलाई पुनः बलियो राजनीतिक खेलाडीका रूपमा स्थापित गर्न सफल भएका छन् ।
विशेषगरी ध्रुवराज कुनै समय शेरधन राईकै राजनीतिक अभियानका सक्रिय कार्यकर्ता थिए । एमालेभित्र लामो समय काम गरेका उनी पार्टीको विद्यार्थी संगठन अखिलको केन्द्रीय सचिवालय सदस्यसम्म पुगेका थिए । तर, पछिल्लो समय पार्टीभित्र नेतृत्वको शैली र जिम्मेवारी वितरणप्रति असन्तुष्टि बढ्दै गएपछि उनले एमाले परित्याग गरे ।
एमालेको महाधिवेशनताका पार्टीभित्र बढ्दो असन्तुष्टि र नेतृत्वको एकलौटी प्रवृत्तिको आरोप लगाउँदै उनले पार्टी छाडेका थिए । त्यसपछि उनी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध भएका हुन् । पार्टी परिवर्तन गरेको केही महिनामै जिल्लाकै सबैभन्दा शक्तिशाली राजनीतिक व्यक्तित्वलाई चुनावमा हराएपछि उनको उदयलाई राष्ट्रिय राजनीतिक वृत्तमा समेत चासोका साथ हेरिएको छ ।
ध्रुवराजको चुनावी अभियान पनि निकै फरक शैलीको थियो । उनले ठूला सभा र सम्मेलनभन्दा पनि गाउँगाउँमा पुगेर सिधा संवाद गर्ने रणनीति अपनाएका थिए । मोटरसाइकलमा स्पिकर बाँधेर जिल्ला दौडाहा गर्ने, जहाँ जति मानिस भेटिन्छन् त्यतिलाई आफ्ना योजना सुनाउने र साधारण जीवनशैली प्रदर्शन गर्ने उनको शैली मतदाताबीच प्रभावकारी बनेको थियो ।
उनले आफ्नो चुनावी अभियानमा भ्रष्टाचारविरुद्ध कडा अडान, इमानदारीपूर्ण राजनीति र भोजपुरको विकासलाई मुख्य मुद्दा बनाएका थिए । टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष हुँदा गरेका कामको उदाहरण दिँदै उनले आफूले विकास र पारदर्शितालाई प्राथमिकता दिएको दाबी गरेका थिए ।
साधारण जीवनशैलीका कारण पनि उनी मतदातामाझ लोकप्रिय बनेका थिए । एउटा छड्के झोला बोकेर हिँड्ने, औपचारिक कार्यक्रममा बाहेक सामान्य पोसाकमै देखिने र गाडीभन्दा मोटरसाइकलमै यात्रा गर्ने शैलीले उनी अन्य नेताभन्दा फरक देखिन्थे ।
ध्रुवराजको राजनीतिक पृष्ठभूमि पनि संघर्षपूर्ण छ । भोजपुरको नागीमा सामान्य परिवारमा जन्मिएका उनी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । भोजपुर बहुमुखी क्याम्पसमा दुईपटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति भएका उनले विद्यार्थी आन्दोलनमार्फत राजनीतिक पहिचान बनाएका थिए ।
२०६२–०६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेलेका उनी आन्दोलनका क्रममा अग्रपंक्तिमा रहेर राजतन्त्रविरुद्ध नारा लगाउने र भाषण गर्ने नेताका रूपमा चिनिन्थे । त्यस कारण उनलाई भोजपुरमा ‘आन्दोलनको छोरा’ भन्ने उपनामसमेत दिइएको थियो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा उनले कांग्रेस, तत्कालीन माओवादी केन्द्र र संघीय समाजवादी फोरमको गठबन्धनलाई पराजित गर्दै टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष जितेका थिए । त्यतिबेला ठूलो गठबन्धनलाई हराएपछि समर्थकहरूले उनलाई ‘ध्रुवे हात्ती’ भन्ने उपमा दिएका थिए ।
ध्रुवे हात्ती भन्नाले एउटा विशिष्ट जातको, ठूलो, बलियो र शक्तिशाली जंगली हात्तीलाई जनाउँछ । २०७४ को स्थानीय निर्वाचनमा ठूला दल सम्मिलित गठबन्धनलाई सहजै पराजित गर्न सकेका कारण ध्रुवराजलाई समर्थकले शक्तिशाली र साहसी हात्तीको उपमा दिएका हुन् । अहिले फेरि शेरधनजस्तो शक्तिशाली नेतालाई हराए पुरानो उपमा कायम राख्दै उनी झन् चर्चित भएका छन् ।
यसपटकको चुनावमा उनलाई अर्को महत्त्वपूर्ण समर्थन पनि प्राप्त भएको थियो । पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले ध्रुवराजलाई खुला समर्थन गरेका थिए । माओवादी केन्द्र विभाजनपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सहकार्य अन्त्य गरेका किराँतीले भोजपुरमा आफ्नो पार्टीबाट उम्मेदवार नउठाई ध्रुवलाई साथ दिएका थिए ।
किराँतीले ‘जेनजी पुस्ताको राजनीतिक चेतना र भोजपुरको समृद्धिको आकांक्षालाई सम्मान गर्दै’ ध्रुवलाई समर्थन गरेको बताएका छन् । उता उनीसँग पराजित एमाले नेता शेरधनका लागि भने यो लगातार दोस्रो संसदीय हार हो । यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी पूर्वमाओवादी केन्द्रका सुदन किराँतीसँग २ हजार ३८५ मतान्तरले पराजित भएका थिए ।
भोजपुरबाट छैटौँपटक चुनावी मैदानमा उत्रिएका शेरधनले २०५६ सालको प्रतिनिधिसभा निर्वाचन, २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रदेशसभा निर्वाचन जितेका थिए । तर, २०६४ सालको संविधानसभा, २०७९ सालको प्रतिनिधिसभा र अहिलेको निर्वाचनमा भने पराजित हुनु परेको छ ।
परिणाम सार्वजनिक भएपछि शेरधनले लोकतान्त्रिक अभ्यासमा आएको जनादेशलाई सम्मान गर्दै मतदाताप्रति आभार व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले भोजपुरको विकासका लागि आफूले देखेको सपना अधुरै रहे पनि जिल्लाप्रतिको जिम्मेवारीबाट कहिल्यै टाढा नहुने बताएका छन् ।
उनले आफ्ना समर्थक र कार्यकर्तालाई निर्वाचन परिणामबाट निराश नहुन आग्रह गर्दै विजयी उम्मेदवार ध्रुवराजलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका छन् । भोजपुरको निर्वाचन परिणामले एक निर्वाचन क्षेत्रको नेतृत्व परिवर्तन मात्र नगरेर पुरानो शक्तिकेन्द्रको पराजय र नयाँ राजनीतिक शक्तिको उदय गराएको छ ।
निर्वाचन परिणामलाई विशेषगरी युवा पुस्ता, वैकल्पिक राजनीति र स्थानीय नेतृत्वको उदयलाई मतदाताले दिएको समर्थनका रूपमा हेरिएको छ । भोजपुरको राजनीतिक इतिहासमा शक्तिशाली मानिएका शेरधनलाई आफ्नै पूर्वकार्यकर्ताले पराजित गरिदिएका छन् ।
ध्रुवराजलाई राजनीतिक रुपमा संगठित गराउने र अगाडि बढाउने काम शेरधनले नै गरेका हुन् । अहिले शेरधनको साथ छाडेर नयाँ दलमा आबद्ध भई अघि बढ्ने क्रममा उनको अप्रत्याशित उदयले भोजपुरमा व्यापक चर्चा पाइरहेको छ । राष्ट्रिय राजनीतिमा पनि नयाँ बहस र समीकरण जन्माउने संकेत दिएको छ ।

























