नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरूको आज शपथ

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २५, सोमबार ०८:४५
नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरूको आज शपथ

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सोमबार (आज) हुने भएको छ । संघीय संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिउँसो शपथ ग्रहणको तय गरिएको हो ।

गत माघ ११ गते १८ रिक्त पदका लागि भएको निर्वाचनबाट निर्वाचित सदस्यहरूलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम पद तथा गोपनीयताको शपथ गराउने छन् ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार शपथ ग्रहणका लागि नवनिर्वाचित सदस्यहरूलाई आफ्नो पहिचान झल्कने पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ । साथै, निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र र नागरिकताको प्रतिलिपि अनिवार्य गरिएको बताइएको छ ।

कानुनी व्यवस्थाअनुसार नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले शपथको ब्यहोरा मातृभाषामा अनुवाद गरी सचिवालयमा उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ ।

निर्वाचन आयोगका अनुसार गत माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचनमा कोसी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिलबहादुर थापा निर्वाचित भएका थिए ।

मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर, बागमती प्रदेशबाट गीता देवकोटा र प्रेमप्रसाद दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका थिए ।

कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजंग शाही, सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.