परिवार दलबाट रास्वपा हुँदै संसद पुगे सिभिल इन्जिनियर लालविक्रम थापा

Share this
817shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २५, सोमबार १५:२३

इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका लालविक्रम थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कोशी प्रदेश महामन्त्री हुन् ।

दोस्रो पटक चुनावी मैदानमा उत्रिएका थापाले यसपटक फराकिलो मतान्तरसहित जित हासिल गर्दै संघीय संसदको प्रवेश पक्का गरेका हुन् । ३१ वर्षीय थापा सिभिल इन्जिनियर हुन् ।

उनले ५७ हजार ३४८ मत प्राप्त गर्दा मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजीव कोइरालाले १६ हजार ७१ मत मात्र ल्याउन सके । थापा ४१ हजार २७७ मतको फराकिलो अन्तरले विजयी भएका हुन् ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०७९ मा पनि यही क्षेत्रबाट उम्मेदवारी दिएका थापा त्यतिबेला १९ हजार ३९१ मतसहित तेस्रो स्थानमा सीमित भएका थिए । उक्त निर्वाचनमा नेकपा (एमाले)का भीमप्रसाद आचार्य विजयी भएका थिए ।

धनकुटा जिल्लामा २०४३ असार १८ गते जन्मिएका थापा हाल सुनसरीको इटहरीमा बसोबास गर्दै आएका छन् । उनी धनकुटाको साविक मुगा गाविस–६, हाल पाख्रीबास नगरपालिका–८ का बासिन्दा हुन् ।

उनका पिता गोविन्दबहादुर थापा नेपाली कांग्रेसको राजनीति गर्थे । धनकुटामा पार्टीका क्षेत्रीय सभापति समेत भइसकेका व्यवसायी पृष्ठभूमिका गोविन्दबहादुरका छोरा लालविक्रम अहिले रास्वपाको राजनीति गर्छन् ।

लालविक्रमले धरानस्थित पूर्वाञ्चल क्याम्पसबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययन गरेका छन् । पारिवारिक रूपमा तीन दाजुभाइ र एक दिदीबहिनीमध्येका सदस्य हुन् ।

रास्वपामा प्रवेश गर्नुअघि थापा नेपाल परिवार दलमा आबद्ध थिए । उनी परिवार दलका धनकुटा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य समेत बनेका थिए । पछि रास्वपा गठन भएपछि पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा धरानमा आयोजित कार्यक्रममा उनी औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन् ।

राजनीतिमा सक्रिय हुनुअघि थापा शिक्षण तथा सामाजिक क्षेत्रमा पनि सक्रिय थिए । इटहरीस्थित होराइजन इन्जिनियरिङ कलेजका संस्थापकका रूपमा उनले प्राविधिक शिक्षामा योगदान दिएको बताइन्छ । पछिल्ला वर्षहरूमा उनले राजनीतिक गतिविधि तीव्र बनाउँदै रास्वपाको संगठन विस्तारमा भूमिका खेलेका थिए ।

निर्वाचनमा ‘घण्टी’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका लालविक्रमले पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार तथा स्थानीय अर्थतन्त्र मजबुत बनाउने एजेन्डा अघि सारेका थिए । उनले सार्वजनिक सेवा प्रवाहमा सुधार र पारदर्शी शासन प्रणालीलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।

यद्यपि, उनी केही विवादमा पनि तानिएका छन् । इटहरी उपमहानगरपालिका–९ मा रहेको जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर व्यावसायिक भवन सञ्चालन गर्दा झण्डै ८० लाख रुपैयाँभन्दा बढी भाडा नतिरेको आरोप लाग्दै आएको छ । तर, रास्वपाप्रति देखिएको व्यापक जनसमर्थन र संगठनात्मक सक्रियताका कारण ऐतिहासिक मतान्तरसहित विजय हासिल गर्न लालविक्रम सफल भएका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.