प्रत्यक्षतर्फको अन्तिम परिणाम सार्वजनिक, रास्वपालाई १२५ सिट

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २६, मंगलबार ०६:२८

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत देशभरका १६५ वटै निर्वाचन क्षेत्रको प्रत्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले सोमबार राति संखुवासभा क्षेत्रको मत परिणाम घोषणा गरेसँगै प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको हो । सबैभन्दा अन्तिममा सार्वजनिक भएको संखुवासभा निर्वाचन क्षेत्रबाट नेकपा (एमाले)का उम्मेदवार डा. अर्जुनकुमार कार्की विजयी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिङमा शेर्पालाई पराजित गर्दै कार्कीले प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन् । त्यस्तै, धनुषाको निर्वाचन क्षेत्र नम्बर १ मा भने उम्मेदवारी खारेज भएपछि विवाद उत्पन्न भएको छ ।

निर्वाचन आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार मातृकाप्रसाद यादवलाई विजयी घोषणा गर्दै प्रमाणपत्रसमेत प्रदान गरेको छ । तर, उम्मेदवारी खारेज भएको विषयलाई लिएर रास्वपाका उम्मेदवार अदालत पुगेका छन् । उक्त विषय अहिले न्यायिक प्रक्रियामा रहेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ रास्वपा सबैभन्दा ठूलो दल बनेको छ । रास्वपाले कुल १२५ सिट जितेको हो । नेपाली कांग्रेसले १८ सिट जितेको छ भने एमालेले ९ सिटमा विजय हासिल गरेको छ ।

त्यस्तै, नेकपाले ८ सिट जित्दा श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सिट र स्वतन्त्र उम्मेदवारले १ सिट जितेका छन् । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर सामाजिक अभियन्ता महावीर पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

फागुन २१ गते देशभर मतदान भएको थियो । उक्त मतदानबाट प्रतिनिधिसभाको २७५ सदस्यमध्ये प्रत्यक्षतर्फ १६५ सदस्य निर्वाचित भएका हुन् । ११० सदस्य समानुपातिक प्रणालीबाट चयन हुने व्यवस्था छ ।

हाल समानुपातिकतर्फ मतगणना जारी छ । आयोगका अनुसार हालसम्म करिब १ करोड मत गणना भइसकेको छ । प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि उल्लेख्य मत प्राप्त गरिरहेको छ । रास्वपाले करिब आधा लाख मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत सिट बाँडफाँटमा सहभागी हुन आवश्यक ३ प्रतिशत थ्रेसहोल्ड पार गर्ने दलहरूको प्रारम्भिक सूचीसमेत सार्वजनिक गरेको छ । आयोगका अनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले थ्रेसहोल्ड पार गरेको आयोगले जनाएको छ । समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि प्रतिनिधिसभाको पूर्ण संरचना स्पष्ट हुने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.