
काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगन थापालाई नैतिकताको नाममा राजीनामा नदिई छिटो महाधिवेशनको प्रक्रियामा जान सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता भण्डारीले अहिलेको समय राजीनामा दिने नभई जिम्मेवारी पुरा गर्ने भएको बताएका हुन्।
भण्डारीले समस्या देखेर भाग्नुभन्दा पनि त्यसको उपचार गरेर सङ्गठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हुने उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन। त्यसैले गगनकुमार थापा ज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो।’
अहिलेको अवस्थामा कांग्रेसलाई जोगाउनु आफैँमा एक नैतिक दायित्व भएको भन्दै उनले युवा पुस्ता पार्टीबाट टाढिँदै गएको प्रति चिन्ता व्यक्त गरेका छन्। ‘आजको कटु यथार्थ के हो भने- युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय हो। यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन,’ उनले थपेका छन्। नेता भण्डारीले कांग्रेसलाई पुनर्जीवन दिन सम्भव रहेको र त्यसका लागि बलियो इच्छाशक्ति र साहस आवश्यक रहेको बताएका छन्।
प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेपाली कांग्रेसले अपेक्षा गरेभन्दा निकै कमजोर नतिजा ल्याएपछि पार्टीभित्र नेतृत्वको आलोचना सुरु भएको छ। प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिनु र रास्वपा जस्ता नयाँ शक्तिहरूको अभूतपूर्व उदय हुनुले कांग्रेसको परम्परागत विरासतमाथि प्रश्न उठाएको छ। पार्टी प्रमुखको हैसियतमा यस हारको ‘नैतिक जिम्मेवारी’ लिँदै गगन थापाले राजीनामा दिनुपर्ने माग र चर्चा चुलिएको हो।
यस पटकको निर्वाचनमा गगन थापा काठमाडौँ-४ छोडेर सर्लाही-४ बाट चुनावी मैदानमा उत्रिएका थिए। तर, सो क्षेत्रमा उनी रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग १२ हजारभन्दा बढी मतान्तरले पराजित भए। १८ वर्षदेखिको संसदीय यात्रामा लागेको यो ‘ब्रेक’ र पार्टीको निराशाजनक प्रदर्शनले गर्दा उनी रक्षात्मक अवस्थामा पुगेका छन्। उनले उपसभापति विश्वप्रकाश शर्मासँगको छलफलमा राजीनामा दिने मनसाय व्यक्त गरिसकेको समाचारहरू बाहिरिएका छन्।
‘कांग्रेस बदलौँ, देश बदलौँ’ भन्ने नाराका साथ नेतृत्व सम्हालेका थापाका लागि यो नतिजा धक्का सावित भएको छ। युवा पुस्ताको मत रास्वपा र बालेन शाहको लहरतर्फ आकर्षित हुनुले कांग्रेसको भविष्यमाथि नै सङ्कट देखिएको छ। यस्तोमा पार्टीभित्रै एउटा पक्षले ‘नेतृत्व असफल भएको’ भन्दै तत्काल मार्गप्रशस्त गर्न दबाब दिइरहेको छ भने अर्को पक्षले गगनलाई नै सुध्रिएर अघि बढ्न सुझाव दिइरहेको छ।
अहिलेको विवादको अर्को पाटो १५ औँ महाधिवेशनसँग जोडिएको छ। केही नेताहरूले थापालाई अहिले राजीनामा दिएर कार्यवाहकको जिम्मेवारी विश्वप्रकाश शर्मालाई सुम्पिन र चाँडो महाधिवेशन बोलाएर नयाँ जनादेशसहित नेतृत्वमा आउन सुझाव दिएका छन्।
























