
विराटनगर । काेशी प्रदेशमा प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ । प्रत्यक्ष तर्फ प्रदेशको २८ सिट मध्ये १७ सिट जितेको रास्वपाले समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुग्दा रास्वपाले ८ लाख ३७ हजार मत पाएको छ ।
निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार रास्वपाले कोशी प्रदेशमा ८ लाख ३७ हजार २४३ मत प्राप्त गरेको छ । यो मत दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको भन्दा झण्डै ५ लाख ५८ हजारले बढी हो ।
समानुपातिकतर्फ दोस्रो र तेस्रो स्थानका लागि नेपाली कांग्रेस र नेकपा एमाले बीच तीव्र प्रतिस्पर्धा देखिएको छ। नेपाली कांग्रेसले २ लाख ७८ हजार ७०७ मत प्राप्त गर्दै आफूलाई दोस्रो स्थानमा उभ्याएको छ भने नेकपा एमाले २ लाख ७७ हजार ३०१ मत सहित तेस्रो स्थानमा खुम्चिएको छ ।
कोशी प्रदेशमा श्रम संस्कृति पार्टीको उदय रोचक देखिएको छ । स्थापना भएको मात्र चार महिना पुगेको यो पार्टीले स्थापित दलहरूलाई चुनौती दिँदै २ लाख ७४ हजार ७२४ मत प्राप्त गरी चौथो स्थान हासिल गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ९३ हजार ३९ मत प्राप्त गर्दै एक लाखको आँकडा समेत पार गर्न सकेको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीले ६१ हजार ९०० मत मात्र प्राप्त गरेको छ।
देशभर १ करोड ५ लाख ५५ हजार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख ५६ हजार ९६ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १७ लाख १५ हजार ६६४, नेकपा एमालेले १४ लाख ३० हजार ७९६, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ८१ हजार ७७, श्रम संस्कृति पार्टीले
३ लाख ६९ हजार ४६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २७ हजार ११३ मत प्राप्त गरेको छ ।
























