कांग्रेसमा एकता र रूपान्तरणको बहस: गगनलाई गोपालमानको साथ

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २७, बुधबार ११:१७

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीभित्र बृहत्तर एकता र रूपान्तरणको आवश्यकता औँल्याउँदै सभापति गगन थापाको नेतृत्वलाई साथ दिन कार्यकर्ताहरूलाई आह्वान गरेका छन् । हालै सम्पन्न संघीय संसद् निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएपछि श्रेष्ठले सामाजिक सञ्जालमार्फत पार्टीको आगामी बाटोबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

देश अहिले पुनः लयमा फर्कने प्रक्रियामा रहेको उल्लेख गर्दै उनले गगन थापाको नेतृत्वले पार्टीभित्र नयाँ आशा र दिशानिर्देश दिएको बताए । निर्वाचनको नतिजाले कांग्रेसलाई समयसापेक्ष बन्न, युवाहरूको आकांक्षा आत्मसात् गर्न र संगठनात्मक रूपान्तरण गर्न स्पष्ट सन्देश दिएको श्रेष्ठको बुझाइ छ । उनले यो परिणामलाई केवल नेतृत्वको असफलता मात्र नभई जनताको परिवर्तनको चाहनाअनुसार पार्टीलाई ढाल्न नसकिएको चेतावनीका रूपमा लिनुपर्ने बताए ।

श्रेष्ठले अब वडा तहदेखि केन्द्रसम्मै संगठन सुदृढीकरण अभियान चलाउनुपर्नेमा जोड दिएका छन् । ‘गगन बाबु, तपाईंले देखाएको साहस, दृष्टि र युवाहरूलाई प्रेरित गर्ने क्षमताले हामीलाई अझ दृढ बनाएको छ,’ श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘यस कठिन घडीमा निराशा वा विचलन ल्याउनु पार्टी र देश दुवैका लागि हितकर हुँदैन । बरु, हामी सबै कांग्रेसीजनहरू एकढिक्का भएर तपाईंलाई साथ दिनु आवश्यक छ ।’

पार्टीभित्र नयाँ ऊर्जा र रूपान्तरणको बाटो गगन थापाकै नेतृत्वमा सम्भव रहेको भन्दै उनले विधिको शासन र राजनीतिक स्थायित्वलाई कांग्रेसले प्राथमिकता दिनुपर्ने उल्लेख गरे । निर्वाचनमा कांग्रेस प्रत्यक्षतर्फ खुम्चिएपछि पार्टीभित्र नेतृत्व र कार्यशैलीलाई लिएर बहस भइरहेका बेला वरिष्ठ नेता श्रेष्ठको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.