एमाले नेता विनोद ढकालको निर्वाचन खर्च सार्वजनिक

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २९, शुक्रबार १२:१८

विराटनगर । नेकपा (एमाले)का तर्फबाट मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा उम्मेदवार रहेका विनोद ढकालले निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन् ।

एमाले नेता ढकालले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गरेको खर्चको सबै विवरण बाहिर ल्याएका हुन् । उनले उक्त विवरण बिहीबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा बुझाएका छन् ।

ढकालले चुनावी अभियानका क्रममा कुल ९ लाख ७० हजार ३५८ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन् । निर्वाचन अवधिभर ७ लाख ५५ हजार रुपैयाँ आम्दानी भएको र खर्च आम्दानीभन्दा बढी भएकाले २ लाख १५ हजार ३५८ रुपैयाँ अझै तिर्न बाँकी रहेको विवरणमा उल्लेख छ ।

निर्वाचनमा उठेको रकम र गरिएको खर्चको विवरण उम्मेदवारले आयोगलाई बुझाएर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ खर्च गरिएको छ भने मतदाता नामावली खरिदका लागि १८ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।

सवारी साधन भाडा र इन्धनमा १ लाख २९ हजार ७ सय, प्रचार सामग्री छपाइमा २ लाख १५ हजार तथा झन्डा, ब्यानर, स्टिकर तथा ध्वनि प्रणाली (साउन्ड सर्भिस) प्रयोगका लागि १ लाख २४ हजार रुपैयाँ खर्च भएको देखाइएको छ । सम्पर्क कार्यालय व्यवस्थापनमा १ लाख २३ हजार, घरदैलो कार्यक्रम र मतदाता प्रशिक्षण कार्यक्रममा १ लाख १३ हजार, बुथ एजेन्टहरूको व्यवस्थापनका लागि १ लाख ४३ हजार ७१५ रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ ।

त्यसैगरी चुनावी सभा, गोष्ठी तथा कार्यकर्ताका लागि खाजा र खाना व्यवस्थापनमा ७८ हजार ५ सय तथा अन्य विविध खर्च शीर्षकमा १५ हजार ४४३ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । निर्वाचन आयोगले पारदर्शिता कायम गर्न उम्मेदवारले निर्वाचन खर्च अनिवार्य सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्धारित समयभित्र खर्च विवरण बुझाउनुपर्ने हुन्छ । विवरण नबुझाउने वा गलत विवरण पेस गर्ने उम्मेदवारलाई आयोगले कारबाही गर्न सक्ने कानुनी व्यवस्था छ ।

मोरङ–६ बाट ८ हजार ३१७ मत प्राप्त गरेर एमालेका ढकाल तेस्रो भएका थिए । यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रुविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.