
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक टेलिफोन संवाद भएको छ ।
दुवै नेताबीच चुनावको परिणाम सार्वजनिक भइसकेपछि फोनमार्फत कुराकानी भएको प्रचण्ड निकट स्रोतले जनाएको छ । नेकपाको केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यका अनुसार कुराकानीका क्रममा मुख्यतः चुनावमा सफलता हासिल गरेकोमा एकअर्कालाई बधाई आदान–प्रदान गरिएको थियो ।
त्यसबाहेक राजनीतिक सहकार्य वा अन्य विषयमा विशेष छलफल भएको जानकारी भने सार्वजनिक गरिएको छैन । आचार्यले रवि लामिछानेसँग फोनमा संवाद भएको पुष्टि गर्दै त्यसलाई सामान्य शिष्टाचार भेटघाटकै रूपमा लिनुपर्ने बताए ।
यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग प्रचण्डको चुनावपछि भेटघाट वा संवाद भएको भन्ने चर्चा असत्य रहेको पनि आचार्यले स्पष्ट पारे । केही सञ्चारमाध्यममा प्रचण्ड र बालेनबीच भेट भएको समाचार आए पनि त्यो सत्य नभएको उनले बताए ।
यद्यपि, यसअघि बालेन शाहका पिता रामनारायण शाहको निधनपछि समवेदना व्यक्त गर्न प्रचण्ड बालेनको घर पुगेका बेला दुवै नेताबीच भेट भएको थियो ।
उता, प्रतिनिधिसभा निर्वाचनपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच पनि पहिलोपटक भेट भएको छ । ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गर्न प्रचण्ड नेपाल–कोरिया मैत्री अस्पताल पुगेका बेला दुवै नेताबीच भेट भएको हो ।
























