
सुनसरी । निर्वाचन आयोगले समानुपातिकतर्फको सिट संख्या निर्धारण गरेसँगै श्रम संस्कृति पार्टीमा सांसद बन्ने आकांक्षीहरूको दौडधुप सुरु भएको छ । दौडधुपका कारण अध्यक्ष हर्क साम्पाङ तनावमा परेका छन् ।
समानुपातिकतर्फ ४ सिट जितेको यो पार्टीमा आकांक्षीहरूले सामाजिक सञ्जाल र मिडियामार्फत दबाब दिन थालेपछि अध्यक्ष हर्क साम्पाङ तनावमा परेका हुन् ।
सांसद चयनलाई लिएर नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा बोल्न थालेपछि अध्यक्ष साम्पाङले फेसबुकमार्फत कडा चेतावनी दिएका छन् । उनले लेखेका छन्, ‘भात खाऊ, मेरो टाउको नखाऊ ।’
समानुपातिक विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने धम्की पनि दिएका छन् ।
पार्टीको बन्दसूचीमा रहेकी समला साम्पाङ राई र आशा लामाले आफूहरू सांसद बन्नुपर्ने भन्दै सार्वजनिक रूपमै दाबी प्रस्तुत गरेका छन् ।
प्रत्यक्षतर्फ ३ सिट जितेको श्रम संस्कृतिले अब समानुपातिकका ४ सिट पाएको छ । समानुपातिक सांसदमा आदिवासी जनजाति, खस–आर्य, दलित गरी मिलाउनुपर्ने बाध्यता छ । जसले गर्दा साम्पाङलाई नाम टुंगो लगाउन सकस भएको हो ।
























