
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका सांसदहरूको नामावलीलाई अन्तिम रूप दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले विभिन्न क्लस्टर र समावेशी सिद्धान्तका आधारमा १६ जनाको नाम टुंगो लगाएको हो ।
एमालेले निर्वाचन आयोगमा बुझाएको सूचीअनुसार आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेसी र मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
कुन क्लस्टरबाट को–को परे ?
आदिवासी जनजाति क्लस्टरबाट एमालेले ४ जनाको नाम टुंगो लगाएको छ । जसमा महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ रहेका छन् भने पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्य छानिएका छन् ।
खस आर्य क्लस्टरबाट ५ जनाको नाम छनोट गरिएको छ । महिलातर्फ पार्टीकी सचिव पद्मा अर्याल, टुकाभद्रा हमाल र पिछडिएको क्षेत्रबाट एशुदा कुमारी बराल परेका छन् । पुरुषतर्फ गुरु प्रसाद बराल र पुष्पराज कंडेल सांसद बन्ने भएका छन् ।
मधेसी क्लस्टरबाट ३ जनाको नाम टुंगो लगाइएको छ । जसमा महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव रहेका छन् भने पुरुषतर्फ चन्द्रेश्वर मण्डल चयन भएका छन् ।
दलित क्लस्टरबाट दुई जना महिलाको नाम टुंगो लगाइएको छ । जसमा विष्णुमाया वी।के। र नीता घटानी रहेका छन् ।
थारु क्लस्टरबाट पुरुषतर्फ कृपाराम राणा र मुस्लिम क्लस्टरबाट महिलातर्फ साजिदा सिद्दीकीको नाम टुंगो लागेको छ ।
पार्टीले क्लस्टर अनुसारको प्रतिशत र महिला सहभागिताको संवैधानिक प्रावधानलाई ध्यानमा राख्दै यो नामावली तयार पारेको जनाएको छ । सचिवालयले टुंगो लगाएको यो सूची अब निर्वाचन आयोगमा पठाइनेछ ।
























