श्रम संस्कृति पार्टीमा समानुपातिकको लफडा: २ उम्मेदवारले नाम फिर्ता लिए

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ३०, शनिबार १५:५३
फायल फोटो ।

धरान । प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ चार सिट प्राप्त गरेको श्रम संस्कृति पार्टीभित्र सांसद बन्ने आकांक्षीहरूको ताँती लागेपछि आन्तरिक विवाद चर्किएको छ। सिट संख्या थोरै र दाबेदार धेरै भएपछि विवाद मिलाउन सहज होस् भन्दै दुई उम्मेदवारले भने स्वैच्छिक रूपमा आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्।

खस आर्य पुरुषतर्फ बन्दसूचीको पहिलो नम्बरमा रहेका जीवन विष्ट र आदिवासी जनजाति महिलातर्फ तेस्रो नम्बरमा रहेकी मीना सिंगकले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको बताएका हुन्। विष्टले आफ्नो ठाउँमा भूपू गोर्खा क्याप्टेन पूर्ण लिम्बूलाई संसद‍्मा पठाउन पार्टीलाई अनुरोध गरेका छन् भने सिंगकले पार्टीभित्रको विवाद कम गर्न आफू पछि हटेको उल्लेख गरेकी छिन्। यता समला साम्पाङ राई र आशा लामाले भने आफूहरू नै सांसद बन्नुपर्ने भन्दै दबाब बढाएपछि विवादले थप उग्र रूप लिएको छ।

समानुपातिक सिटका लागि पार्टीभित्र हानथाप र सार्वजनिक रूपमा दबाब बढ्दै गएपछि अध्यक्ष हर्क साम्पाङले कडा चेतावनी दिएका छन्। उनले फेसबुकमार्फत ‘रोइलो’ गर्नेहरूलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका हुन्। सिट बाँडफाँटका विषयमा सुरु भएको यो किचलोले नवगठित पार्टीभित्रको आन्तरिक अनुशासन र नेतृत्वको चुनौतीलाई छताछुल्ल पारेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.