
काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा र नेतृत्व परिवर्तनको विषय अब ‘च्याप्टर क्लोज’ भइसकेको बताएका छन् । शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचिव बस्नेतले आगामी १२ औँ महाधिवेशनसम्मका लागि नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।
पार्टीका उपमहासचिव योगेश भट्टराईले हालै ‘नेतृत्वले मार्ग प्रशस्त नगरे पार्टीमा अप्रिय निर्णय लिन सकिने’ भनी दिएको अभिव्यक्तिको खण्डन गर्दै बस्नेतले यस्तो चेतावनी दिएका हुन् । उनले नेतृत्वको विरुद्धमा बोल्नेलाई नै आगामी दिनमा ‘अप्रिय’ अवस्था सिर्जना हुन सक्ने संकेत गरे ।
‘जुन कार्यकर्ताले केपी शर्मा ओलीलाई अध्यक्ष बनाउन भोट हालेका थिए, उनीहरूको भावना नबुझी अप्रिय परिस्थितिको धम्की दिनु गलत हो’, बस्नेतले भने, ‘उहाँले चाहेर मात्र पार्टीमा अप्रिय परिस्थिति आउँदैन । बरु यस्ता अभिव्यक्तिले पार्टीलाई नभई बोल्ने व्यक्तिलाई नै अप्ठ्यारोमा पार्ने निश्चित छ ।’
बजारमा नेपाली काँग्रेसको जस्तै एमालेमा पनि विशेष महाधिवेशन बोलाएर नेतृत्व फेर्ने चर्चा चलेको सन्दर्भमा बस्नेतले एमाले र काँग्रेसको सांगठनिक अवस्था फरक रहेको तर्क गरे । काँग्रेसले समय गुज्रिएपछि महाधिवेशनको कुरा गरेको तर एमालेले विधानको समयभन्दा एक वर्ष अगावै महाधिवेशन गरेर नेतृत्व चयन गरिसकेकाले अहिले यो विषय सान्दर्भिक नभएको उनको भनाइ छ ।
१२ औँ महाधिवेशनसम्मका लागि नेतृत्व परिवर्तन हाम्रो पार्टीको एजेन्डा नै होइन, बस्नेतले थपे, ‘विगतमा नेतृत्वमाथि प्रश्न उठ्दा अध्यक्ष ओलीकै पहलमा समय अगावै भव्य रूपमा महाधिवेशन सम्पन्न भइसकेको छ ।’
फरक मत राख्ने अधिकारका बारेमा बोल्दै बस्नेतले लोकतान्त्रिक पार्टीभित्र विचार राख्न पाइने भए पनि त्यसका लागि निश्चित विधि र फोरम हुने बताए । उनले पार्टीका आन्तरिक कमिटी र बैठकमा आफ्ना कुरा राख्न पाइने तर अनुशासनहीन ढंगले बाहिर बोल्दै हिँड्न नपाइने चेतावनी दिए ।
यद्यपि, नेतृत्वको बारेमा फरक मत राख्दैमा तत्कालै पार्टीबाट निष्कासन गर्ने नीति एमालेमा नरहेको पनि उनले प्रस्ट पारे ।
























