सांकेतिक तस्बिरविराटनगर। विराटनगर महानगरपालिका–१४ मा भएको सवारी दुर्घटनामा घाइते भएका १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर–१८ का ३० वर्षीय अजय मण्डल छन्।
शनिबार राति करिब पौने १० बजे मण्डलले चलाएको भारतीय नम्बरको मोटरसाइकल अनियन्त्रित भई को २ स १६२ नम्बरको कवाडी बोक्ने इभी लोडरमा ठक्कर खाएको थियो।
दुर्घटनामा परेर मण्डलको दायाँ हात र खुट्टा भाँचिएको थियो। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उनलाई उद्धार गरी उपचारका लागि न्युरो अस्पताल भर्ना गरेको थियो।
न्युरो अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नोबेल अस्पताल पठाइएका मण्डलको आइतबार बिहान मृत्यु भएको चिकित्सकले घोषणा गरेका हुन्।
प्रहरीले मोटरसाइकल, लोडर र लोडर चालक १९ वर्षीय मोहम्मद मोसिमलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।।























