
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सांसद बन्नेहरूको अन्तिम सूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आज बिहान आयोजित सचिवालय बैठकअघि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता मनिष झाले यस्तो जानकारी दिएका हुन्।
प्रवक्ता झाले नयाँ सरकार गठनको प्रक्रिया सम्पन्न हुन भने अझै १० दिनजति लाग्न सक्ने बताएका छन्। निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउन बाँकी रहेको र समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण लगायतका संवैधानिक एवं व्यावहारिक प्रक्रियाहरू पूरा गर्न समय लाग्ने उनको भनाइ छ।
संसद् सचिवालयको तयारी, निर्वाचन आयोगको प्रक्रिया र साझेदारहरूबीचको समन्वयका कारण नयाँ सरकार बन्न केही समय लाग्ने देखिएको झाले स्पष्ट पारेका छन्।
पार्टीको बैठकमा समानुपातिक सांसदहरूको नाम छनोट गर्ने र आगामी राजनीतिक कदमका बारेमा थप छलफल भइरहेको बुझिएको छ।
























