फायल फोटो ।विराटनगर। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाउने ४ जना सांसदको नाम टुङ्गो लगाएको छ। पार्टीले विभिन्न क्लस्टरबाट पूर्वब्रिटिस आर्मी, इन्जिनियरिङ विद्यार्थी र महिलाहरूको प्रतिनिधित्व हुने गरी नाम सिफारिस गरेको हो।
पार्टीका नेता सत्य घलेका अनुसार आदिवासी जनजाति कोटाबाट संखुवासभाका पूर्वब्रिटिस आर्मी क्याप्टेन पूर्ण लिम्बूलाई सांसदका लागि छनोट गरिएको छ। उनी सिंगापुर, भारतीय र ब्रिटिस आर्मीबाट अवकाश प्राप्त लाहुरेहरूको प्रतिनिधिको रूपमा संसद जानेछन्।
यस्तै, खस आर्य महिला कोटाबाट झापाकी अम्बिकादेवी संग्रौला र दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेललाई सिफारिस गरिएको छ। मधेशी कोटाबाट भने इन्जिनियरिङ अध्ययन गरिरहेकी रुविकुमारी ठाकुरलाई छनोट गरिएको छ।
श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ। अध्यक्ष हर्क साम्पाङ (सुनसरी-१), महासचिव आरेन राई (खोटाङ) र ध्रुव राई (भोजपुर) निर्वाचित भएका छन्। समानुपातिकका ४ सिट थपिएसँगै सङ्घीय संसद्मा पार्टीको कुल उपस्थिति ७ सिट हुनेछ।
























