कांग्रेस समानुपातिक सांसद: नेताका आफन्त र ‘पुराना’ अनुहारको बाहुल्य

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २, सोमबार ११:३२

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका २० जना सांसदको नाम टुंगो लगाएको छ। आइतबार बसेको कार्यसम्पादन समिति बैठकले निर्वाचन आयोगमा पठाएको सूचीमा पार्टीका शीर्ष नेताका परिवार, आफन्त र पटक–पटक सत्ताको अवसर पाएका अनुहारहरूको बाहुल्यता देखिएको छ।

सभापति गगन थापाको नेतृत्वमा पठाइएको सूचीमा खसआर्य पुरुष क्लस्टरबाट अर्जुननरसिंह केसी सिफारिस भएका छन्। केसी सभापति थापाका ससुरा हुन् र उनी पञ्चायतकालदेखि नै पटक–पटक सांसद र मन्त्री भइसकेका ७८ वर्षीय नेता हुन्।

पुस्तान्तरणको मुद्दा उठाउने कांग्रेसभित्रै केसीको पुनः नियुक्तिलाई लिएर तीव्र आलोचना सुरु भएको छ। यस्तै, मधेसी क्लस्टरबाट प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव र पूर्वउपसभापति विमलेन्द्र निधिकी भाञ्जी नीनुकुमारी कर्ण सांसद बनेका छन्। खसआर्य महिलातर्फ नेता बलबहादुर केसीकी श्रीमती रीना उप्रेतीको नाम पनि सूचीमा अटाएको छ।

आदिवासी जनजाति क्लस्टरबाट सहमहामन्त्री भीष्मराज आङदम्बे, मदनकृष्ण श्रेष्ठ (अपाङ्गता), गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचा सिफारिस भएका छन्। खसआर्य महिलामा सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, सीता थपलिया र कालीबहादुर सहकारी (पुरुष) को नाम छ।

यसैगरी दलित क्लस्टरबाट हरिनादेवी कामी, पवित्रा विक र मनमाया विश्वकर्मा, मधेशीबाट रेखाकुमारी यादव, मुस्लिमबाट साहजान खातुन र थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदार सांसदमा सिफारिस भएका छन्। प्रत्यक्षतर्फ पराजित भएका र पटक–पटक अवसर पाएकाहरूलाई नै समानुपातिकमा प्राथमिकता दिएपछि कांग्रेसभित्र अवसरको न्यायोचित वितरण नभएको भन्दै असन्तुष्टि चुलिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.