
विराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं नवनिर्वाचित समानुपातिक सांसद रुक्मिणीदेवी कोइरालाले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको भ्रामक र अपमानजनक प्रचारप्रति कडा आपत्ति जनाएकी छिन् । ४ दशकभन्दा लामो राजनीतिक संघर्षपछि सांसद चयन भएकी कोइरालाले आफ्नो निष्ठाको राजनीतिमाथि प्रहार गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।
सांसद कोइरालाले पार्टीका अन्य नेताहरूसँग जोडेर सामाजिक सञ्जालमा लगाइएका व्यक्तिगत लाञ्छनाहरू निराधार रहेको स्पष्ट पारेकी छिन् ।
उनले भनिन्, ‘पार्टीको विधि र प्रक्रियाबाट समानुपातिक सांसद चयन भएपछि केही व्यक्तिहरूले सामाजिक सञ्जालमा कुण्ठा पोख्ने काम गरेका छन्। विशेषगरी महिला नेतृत्वलाई विभिन्न लाञ्छना लगाएर कमजोर बनाउने र हतोत्साही बनाउने यो प्रवृत्तिको म घोर भर्त्सना गर्छु।’
आफ्नो ४० वर्ष लामो राजनीतिक जीवनमा पहिलोपटक यस्तो निकृष्ट व्यवहार खेप्नुपरेको बताउँदै उनले थपिन्, ‘यस्ता गलत टिप्पणीले दलीय राजनीतिमा विश्वास राख्ने र इमान्दारितापूर्वक काम गर्नेहरूलाई निरुत्साहित बनाउँछ। भ्रामक प्रचार गर्नेहरूलाई तत्काल पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याउन म माग गर्दछु।’
२०३६ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय कोइरालाको पृष्ठभूमि त्याग र सङ्घर्षले भरिएको छ । विराटनगर वडा नं. ६ की स्थायी बासिन्दा उनले २०४७ सालमा नेपाल महिला संघ, मोरङको सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकी थिइन् । पार्टीको पछिल्लो १४ औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।
भारतको शिलोङबाट स्नातक र इलाहाबादबाट उच्च शिक्षा हासिल गरेकी कोइराला शैक्षिक रूपमा पनि सुदृढ छिन् । २०६४ सालदेखि नै पटक–पटक पार्टीको समानुपातिक सूचीमा परे तापनि उनी विभिन्न प्राविधिक कारणले सांसद बन्नबाट वञ्चित हुँदै आएकी थिइन् । यसपटक मोरङ क्षेत्र नम्बर ६ बाट समानुपातिक उम्मेदवार रहेकी उनी पार्टीको निर्णय अनुसार सांसदमा चयन भएकी हुन् ।
स्वर्गीय नन्दन कोइरालाकी धर्मपत्नी रुक्मिणीदेवीका एक छोरा र दुई छोरी रहेका छन्। राजनीतिक वृत्तमा उनी बौद्धिक र निष्ठावान् नेतृका रूपमा चिनिन्छिन्।

























