नेकपाका नेताहरुलाई प्रधानमन्त्रीको धन्यवाद

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ४, बुधबार १३:१०

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन सफल बनाउन सहयोग गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुलाई धन्यवाद दिएकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान आयोजित भेटमा उनले नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुन लगायत नेताहरुप्रति आभार व्यक्त गरेकी हुन् । प्रधानमन्त्री कार्कीले भेटका क्रममा नेताहरुसँग भनिन्, ‘तपाईंहरुले निर्वाचनमा सहभागिता जनाएर त्यसको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक विधिबाट निकास दिन महत्वपूर्ण भूमिका खेल्नुभयो । यसका लागि धन्यवाद छ ।’

उनले निर्वाचनमा विजयी भएका नेताहरुलाई बधाई दिँदै पराजितलाई आगामी अवसरका लागि शुभकामना समेत व्यक्त गरिन् । उक्त भेटमा समसामयिक राजनीतिक अवस्था र निर्वाचनपछिको परिस्थिति बारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेकपा नेताहरुले पनि प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले राजनीतिक निकास पाएको भन्दै प्रशंसा गरेका थिए ।

नेकपा संयोजक प्रचण्डले प्रधानमन्त्रीको भूमिकाको उच्च मूल्यांकन गर्दै भने, ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनातर्फ जान सक्थ्यो । तपाईंले देखाएको साहस, दृढता र मेहनत अत्यन्त प्रशंसनीय छ ।’ उनले आफ्नो पार्टी सुरुदेखि नै निर्वाचनको पक्षमा उभिएको स्मरण पनि गरे ।

पूर्वप्रधानमन्त्री नेपालले समेत कार्कीको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै कठिन परिस्थितिमा छोटो समयमै निर्वाचन सम्पन्न गर्नु ठूलो उपलब्धि भएको बताए । उनले कार्कीको इमानदार छवि र दृढ निर्णयकै कारण देशले स्थिरताको दिशा पाएको धारणा राखे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.