रास्वपाको सांसद अभिमुखीकरणमा रवि लामिछानेले के भने ?

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ४, बुधबार १५:११

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र विभिन्न समूहले फाटो ल्याउने प्रयास गरिरहेको बताएका छन् ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित पार्टीको सांसदहरुलाई लक्षित गरेर आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन बुधबार उनले पार्टी एकता, निडरता र देश केन्द्रित राजनीतिका लागि सबैलाई सचेत रहन आग्रह गरे । लामिछानेले भने, ‘नयाँ सरकार गठन नहुँदै फाटो ल्याउन विभिन्न समूह सक्रिय छन् । व्यक्तिगत स्वार्थ र पदलोलुपता त्याग्न नसके पुराना दलभन्दा पनि खराब अवस्था आउनेछ ।’

उनले सांसदहरुलाई जथाभावी अभिव्यक्ति नदिन र मतदाताले दिएको हरेक मतको इज्जत राख्न आग्रह गरे । अभिमुखीकरण कार्यक्रममा दोस्रो दिन मात्रै उपस्थित भएका सभापति लामिछानेले गुटगत राजनीति त्यागेर सबै कार्यकर्ता एउटै छानामुनि एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले भने, ‘कुनै गुट बनाउन पर्दैन, घण्टी मुनि सबै अटाउन सक्छौँ । आफ्नो हैसियत वा पदमा केन्द्रित नभई देश केन्द्रित राजनीति गर्नुपर्छ ।’

अभिमुखीकरणमा पार्टीका वरिष्ठ नेता बालेन शाह (बालेन्द्र) भने अनुपस्थित भएका छन् । रास्वपा प्रवक्ता मनिष झाले शाह कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको बताए । सभापति लामिछाने समापन समारोहमा उपस्थित भएको जानकारी उनले दिए ।

लामिछानेले अब परिणाम देखाउने समय आएको बताए । उनले सबै सांसदलाई सचेत गराउँदै भने, ‘देश केन्द्रित राजनीति गर्न नसके पुराना दलभन्दा पनि खराब अवस्था आउनेछ । अहिले देखिएका समस्या तत्काल समाधान गर्नुपर्छ । नत्र जनताले लामो समय कुर्ने छैनन् ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.