
काठमाडौँ। नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ। गत २१ फागुनको निर्वाचनमा व्यहोरेको हारको नैतिक जिम्मेवारी लिँदै थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा पत्र बुझाएका थिए।
शुक्रबारको बैठकमा थापा सहभागी नहुने र बैठकको अध्यक्षता उपसभापति शर्माले गर्ने एक नेताले बताए। सोही बैठकमा शर्माले थापाको राजीनामाबारे औपचारिक जानकारी गराउँदै त्यसलाई अस्वीकृत गर्ने प्रस्ताव पेस गर्ने तयारी गरेका छन्। चुनावमा पराजित हुनुको कारण एकल व्यक्ति नभएको र विशेष महाधिवेशनपछि छोटो समयको तयारीमा चुनावमा होमिनु परेकाले राजीनामा स्वीकृत नगर्ने पक्षमा नेताहरू देखिएका हुन्।
गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनबाट थापा सभापतिमा चुनिएका थिए। तर, २१ फागुनको निर्वाचनमा उनी सर्लाही क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भए। विशेष महाधिवेशनबाट आएका पदाधिकारीहरू नै निर्वाचनमा पराजित भएपछि थापामाथि नैतिक प्रश्न उठेको थियो।
निर्वाचन लगत्तै थापाले राजीनामा दिन खोजे पनि उपसभापति शर्मासहितका नेताहरू र विभिन्न जिल्लाका समितिहरूले उनलाई रोक्दै आएका थिए। ललितपुर लगायतका जिल्लाका नेताहरूले त राजीनामा दिन नहुने भन्दै संयुक्त विज्ञप्ति नै जारी गरेका थिए। तर, थापाले बुधबारको शीर्ष नेताहरूको बैठकमा आफ्नो अडान कायम राख्दै राजीनामा पत्र बुझाएका हुन्।
























